व्यापार वृद्धिमा अग्नीको बलियो कदम

काठमाडौँ । अग्नी सिमेन्ट इन्डस्ट्रिज लिमिटेड को व्यापारमा उल्लेख्य सुधार देखिएको छ । नेपाली सिमेन्ट बजारमा ‘अग्नी’, ‘ओरियन्ट’, ‘त्रिदेव’ र ‘अल्फा’ ब्राण्डमार्फत परिचित कम्पनीको सञ्चालन आम्दानी करिब ४६ प्रतिशतले वृद्धि भएको छ ।

केयर रेटिङ्स नेपाल का अनुसार आर्थिक वर्ष २०२५ मा कम्पनीले ५८ करोड ९० लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिङ्कर बिक्री गरेको छ । अघिल्लो आर्थिक वर्ष २०२४ मा यो कारोबार ३९ करोड ८० लाख रुपैयाँमा सीमित थियो । आर्थिक वर्ष २०२३ मा भने कम्पनीको कारोबार ६७ करोड रुपैयाँ रहेको थियो ।

व्यापार बढे पनि कम्पनीको सञ्चालन नाफा दरमा भने तीव्र गिरावट आएको छ । आर्थिक वर्ष २०२४ मा १२.२६ प्रतिशत रहेको सञ्चालन नाफा दर २०२५ मा घटेर ३.४५ प्रतिशतमा झरेको छ । उत्पादन लागत वृद्धि र बजारमा तीव्र प्रतिस्पर्धाका कारण सञ्चालन नाफा रकम ४ करोड ९० लाख रुपैयाँबाट घटेर २ करोड रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको ऋण तिर्ने क्षमता पनि कमजोर देखिएको छ । उच्च ब्याज खर्च र सञ्चालन नाफामा आएको कमीका कारण ब्याज भुक्तानी क्षमता सूचक ०.३३ गुणामा झरेको छ । यसले कम्पनीलाई सञ्चालन नाफाबाट ब्याज तिर्न कठिन अवस्था रहेको संकेत गर्छ ।

पूँजी संरचनामा केही सुधार भए पनि कम्पनी अझै ऋणमा निर्भर छ । कुल ऋण र खुद सम्पत्तिको अनुपात ३.१२ गुणाबाट घटेर २.३० गुणा पुगेको छ । तर कुल ऋण र नगद आम्दानीको अनुपात ४६.५४ गुणा रहेकाले ऋण चुक्ता गर्न लामो समय लाग्ने देखिन्छ ।

तरलता अवस्था भने सन्तुलित रहेको छ । चालू सम्पत्ति र चालू दायित्वको अनुपात १.५२ गुणा रहेको छ । तर उधारो उठाउन लाग्ने समय ५२० दिन र सञ्चालन चक्र ४९१ दिन पुगेकाले नगद प्रवाहमा दबाब रहेको देखिन्छ ।

सन् २००७ मा स्थापना भएको यो कम्पनी सन् २०२२ मा प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो । कम्पनीले दैनिक ९०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता राखेको छ । कम्पनीको नेतृत्व व्यवसायी कृष्णप्रसाद पोखरेल ले गरिरहेका छन् ।

कम्पनीले पूर्वी र मध्य नेपालका ९ अञ्चलका ३१ जिल्लामा आफ्नो बजार विस्तार गरेको छ । तर आफ्नै क्लिङ्कर प्लान्ट नहुँदा अन्य उद्योगबाट कच्चा पदार्थ खरिद गर्नुपर्ने बाध्यता कम्पनीको नाफा वृद्धिमा प्रमुख चुनौती बनेको छ ।

कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाको रेटिङ गराएको छ । यसअन्तर्गत दीर्घकालीन कर्जाका लागि ५४ करोड ५८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५० करोड ४१ लाख रुपैयाँ समावेश छन् ।

केयर रेटिङ्स नेपाल ले कम्पनीको दीर्घकालीन कर्जाका लागि ‘बी माइनस’ र अल्पकालीन कर्जाका लागि ‘ए फोर’ रेटिङ प्रदान गरेको छ ।