राष्ट्रियसभाबाट सरकारको आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री स्वर्णीम वाग्लेले दिएपछि संशोधनकर्ता सदस्यहरूको प्रस्ताव फिर्ता लिने/नलिने प्रक्रिया पूरा गरिएको थियो । त्यसपछि निर्णयार्थ प्रस्तुत गरिएको नीति तथा कार्यक्रम बैठकको बहुमतले पारित भएको हो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्ताव प्रस्तुत गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मतदान प्रक्रियामा सहभागी नहुने जनाएको थियो । अन्य दलका सदस्यहरूको ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको हो ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।