काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुले सरकारले २५ बर्षसम्म निरन्तर आवाज उठाएका कारण सरकारले अलग्गै मन्त्रालय नै बनाइएकोप्रति धन्यवाद दिएका छन् ।
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा ब्लू डाइमन्ड सोसाइटीले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा ‘महिला, वालवालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय’ नै बनाइएकोप्रति सरकारलाई धन्यवाद दिएका हुन् ।
सांसद भूमिका श्रेष्ठले आफूहरुले विगत २५ बर्षदेखि निरन्तर समूदायका लागि आवाज उठाउँदै आएको र हाल सरकारसँग व्यक्तिगत रुपमा पनि आफूले लविङ गरेकाले सानो सफलता प्राप्त गरेको धारणा राखिन । ‘मन्त्रालय बनेको छ, अब धेरै काम गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ । कर्मचारीदेखि सांसदहरुलाई पनि समूदायका मुद्दाहरुबारे बुझाउनुपर्ने अवस्था आएको छ । यसका लागि समूदाय र मिडियाका साथीहरुको धेरै सहयोग चाहिएको छ,’ उनले भनिन् ।
ब्लु डाइमण्ड सोसाइटीकी कार्यकारी निर्देशक मनिषा ढकालले लोकतन्त्र भनेको मतदान अधिकारमात्र नभइ समानता, समावेशी शासन व्यवस्था र समान नीति निर्माण गर्ने आधार पनि भएकाले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुको आवाजलाई मन्त्रालयमार्फत सुनुवाइ हुनेमा आफूहरु आशावादी भएको बताइन् । समूदायका लागि अझै धेरै कानुन र नीतिहरु आवश्यक भएकाले मन्त्रालय र संसदले प्रभावकारी भूमिका खेल्ने बताउँदै मिडियाहरुले सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरिन् ।
अर्का अभियन्ता टीकाराम भूसालले यौन अभिमूखिकरण र लैङ्गिक पहिचान फरक विषय भएकाले समूदायका पक्षमा सबैले गहिरो अध्ययन गर्न आवश्यक रहेको औंल्याए । उनले नागरिका, वैवाहिक समानता, जनगणनालगायतका विभिन्न विषयमा काम गर्न धेरै बाँकी रहेको बताए । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक विषयमा जिम्मेवार मिडियाको अभ्यास विषयमा कार्यपत्र प्रश्तुत गरेकी थिइन् ।