पौडिरहेको माछा जस्तै
उडिरहेको चरा जस्तै,
दौडिरहेको समय जस्तै
उसले उसलाई देख्यो ।
पानीसँग गई उसले भन्यो
त्यो माछालाई समात्छुस
आकाशसित गई जोड लगायो
त्यो चरालाई पक्रन्छुस
महाकालसित गई बिन्ति चढायो
समयलाई म रोक्छु ।
हुन्न कसैले पनि भनेनन्,
अनि ती दुवैको बिहे भयो ।
यो कविता युगकवि सिद्धिचरण श्रेष्ठ हो ।
आज उनको जन्मजयन्ती मनाइँदै छ ।
युगकवि सिद्धिचरण श्रेष्ठको स्मरणमा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइएको छ । श्रेष्ठको जन्म विसं १९६९ साल जेठ ९ गते ओखलढुंगाको बजारमा भएको हो ।
स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिन्छन् । युगकवि श्रेष्ठले कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरण लगायतका विधामा कलम चलाएका थिए ।
त्यस्तै कविता सङ्ग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत, खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँशु’ लगायतका कृति रहेका छन् ।
युगकवि श्रेष्ठको २०४९ साल जेठ २२ गते निधन भएको थियो ।
बि सं १९६९ मा लान चाह्यौं आज, पूर्वी नेपालको ओखलढुगां मा । लगभग आजभन्दा ११० वर्षअघि नेपाली साहित्यका मुर्धन्य व्यक्ति युगकवि सिद्धिचरण श्रेष्ठको जन्म भएको हो ।
हरेक वर्ष जेष्ठ शुक्ल पञ्चमीका दिनमा युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाउने गरिन्छ, हुन त गतेका हिसाबले जेष्ठ ९ मा युगकवि को जन्मजयन्ती पर्ने हो।
यस वर्षको जेष्ठ शुक्ल पञ्चमीका दिन पर्न गएको युगकविको जन्मजयन्तीको चर्चा गर्न चाह्यौं । कवि श्रेष्ठका कविताहरु आज पनि उत्तिकै सान्दर्भिक छन्, त्यसैले नै वहाँलाई युगकवि भनिएको हुनपर्दछ । शुरु गर्न चाह्यौं वहाँका केही नसुनिएका कविताहरु संगै ।
कति घुमाउरो तर कति गज्जबको भाव छ यो कवितामा, एउटा व्यक्तिको मनोभाव छर्लग्ग उतारिएको जस्तो । कसले भन्छ कि यो कविताले यतिधेरै बसन्त तय गरेको छ भनेंर ? सिद्धिचरणका पाला देखि अबका हजारौं वर्ष सम्म पनि मानवमा यस्ता मनोभाव आइनैरहन्छन् अनि याद आइनैरहनेछन्, कवि सिद्धिचरण श्रेष्ठ ।
सिद्धिचरणको मेरो प्यारो ओखलढुगां कविता त झन जन्मस्थल छाडेर बेग्लै कर्मस्थलमा आइपुगेका नेपालीहरुको जन्मस्थलको एउटा थेगो गान नै भएको छ । कविताको भावमा डुबेर छन्दहरु हुनु र नहुनुमा खासै फरक नपर्ने गरि मर्महरु थप्दै नारायण गोपालले दुरुस्तै गाएका छन्, यस कवितालाई गीतमा ।
ओखलढुगां र कवि श्रेष्ठ यति धेरै जोडिएका छन् कि ओखलढुगां र कटारी जोड्ने राजमार्ग पनि यिनै कविको संझनामा सिद्धिचरण राजमार्गका रुपमा नामाकृत गरिएको छ । भाग्यको लहरामा लहरिकन आफ्नो जन्मस्थान छाडेर अन्यत्र आएका नेपालीहरुको बेथाको समभाव छ यस कवितामा ।
पिता विष्णुचरण र माता नीर कुमारी श्रेष्ठमा पुत्र सिद्धिचरणका भने ९ जना सन्तानहरु थिए । प्रथम पुत्र विश्वको ४ वर्षको उमेरमा नै मृत्यू भएपछि उन्ले आफ्ना पुत्रशोकको पीडालाई विश्व बेथा कृतीमा छताछुुल्ल पारेका छन् ।
यी महान कविले १३ वर्षको कलिलो उमेरमा नै कविता कोर्न थालेका थिए, बिसं १९९० को बिनाशकारी भुकम्प पश्चात उनले भुकम्पको कहालीहरुलाई बटुलेर भुइचाला नामक कविता संग्रह लेखेका थिए ।
