बिहानीको मिर्मिरेदेखि सन्ध्याकालसम्म खेतबारीमै बित्छ अचेल रौतहटको उत्तरी भेगका किसानको दैनिकी ।
यतिबेला चन्द्रपुर, वृन्दावन, गुजरा र फतुवा विजयपुरका खेतहरूमा मकै भित्र्याउन तछाडमछाड छ । तर, यो चटारोमा खुसीको रौनकता छैन । केवल एउटा अदृश्य डर र मनभरि पीडा लुकेको छ ।
वृन्दावन नगरपालिका–१ बलरीका किसान लखिन्द्र पटेल दिनहुँ आठ जना मजदुर लिएर खेतमा खटिएका छन्। उनको मनमा मकै भित्र्याउने उत्साहभन्दा बढी आकाश(बादल) फेरिएर पानीपर्ने कि भन्ने डर छ ।
‘मकै पाकिसक्यो, फेरि पानी परे त भोकै परिन्छ,’ लखिन्द्र गहभरि आँसु पार्दै भन्छन् । फतुवा विजयपुर–२ का श्याम कुमार साहको पीडा अझ फरक छ । केही दिनअघि मात्रै उनले दुःख गरेर सुकाएको मकै पानीले भिजाएर नष्ट पारिदियो । उनी अहिले पनि टोलाइरहेका छन् ।
विगतका वर्षहरूमा दश कठ्ठा खेतबाट झन्डै ४० क्विन्टल मकै उत्पादन हुन्थ्यो । तर, यो वर्ष फागुन र चैतको असिनापानी अनि हुरीबतासले किसानको सपना सबै सोहोरेर लग्यो । अहिले उत्पादन घटेर जम्मा २९ क्विन्टलमा सीमित भएको छ । मिहिनेत अनुसारको फल नपाउँदा किसानका आँखाहरू ओसिला बनेका छन्।
किसानको मन झन् त्यतिबेला भक्कानिन्छ, जब मल, बीउ, इन्धन र मजदुरीको मूल्य आकाशिएको बेला उनीहरूको रगत–पसिनाको मूल्य भने कौडीको भाउमा झर्छ ।
मकैको भाउ गत वर्षको प्रतिक्विन्टल रु. ३,३०० थियो । तर यस वर्षको मूल्य प्रतिक्विन्टल रु.२,६०० देखि रु. २,८०० सम्म पुगेको छ ।
‘इन्धनको भाउ बढ्यो भनेर सबैले पैसा बढाए, तर हामीले पसिना बगाएर फलाएको मकैको मूल्य चाहिँ घट्यो,’ चन्द्रपुरका किसान बिरेन्द्र बछाडले बिलौना गरे ।
आफ्नो लगानी र बुढेसकालको साहारा समेत नउठ्ने भएपछि रौतहटका यी किसानहरू अहिले खेतको आलीमा बसेर आफ्नो भाग्यलाई धिक्कारिरहेका छन्।
