सम्मानजनक प्रसूति सेवामा मानसिक स्वास्थ्य पनि महत्वपूर्ण : रञ्जु दर्शना

काठमाडौं । सांसद रञ्जु दर्शनाले सम्मानजनक प्रसूति सेवा प्राप्त गर्न परिवारको सहयोग मात्र पर्याप्त नहुने बताएकी छन्। उनले प्रसूतिको समयमा महिलाको शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यलाई पनि समान प्राथमिकता दिनुपर्नेमा जोड दिएकी हुन्।

आफ्नै अनुभवलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै दर्शनाले प्रसूति प्रक्रिया महिलाका लागि शारीरिक मात्र नभई मानसिक र भावनात्मक रूपमा पनि संवेदनशील अवस्था भएकाले त्यसअनुसारको वातावरण आवश्यक रहेको बताइन्। परिवारको साथ र सहयोग महत्वपूर्ण भए पनि त्यसले मात्र महिलाले सहज र सम्मानजनक प्रसूति सेवा पाउने अवस्था सुनिश्चित नगर्ने उनको भनाइ छ।

उनले प्रसूति सेवाका क्रममा महिलाको मनोवैज्ञानिक अवस्था, भावनात्मक आवश्यकता तथा स्वास्थ्यसम्बन्धी निर्णयमा उनको सहभागितालाई समेत प्राथमिकतामा राख्नुपर्ने बताइन्। प्रसूति अघि, प्रसूतिको समयमा र त्यसपछि महिलाले सुरक्षित, सम्मानजनक र भरोसायोग्य वातावरण पाउनुपर्नेमा उनले जोड दिइन्।

दर्शनाले श्रीमान्को मानसिक तथा भावनात्मक अवस्था पनि सहज हुनुपर्ने बताइन्। बच्चा जन्माउने प्रक्रिया महिलासँग मात्र सम्बन्धित नभई दम्पती र परिवारको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउने भएकाले श्रीमान् तथा परिवारका सदस्यलाई समेत आवश्यक जानकारी, परामर्श र सहयोग उपलब्ध गराउनुपर्ने उनको धारणा छ।

उनका अनुसार सम्मानजनक मातृत्व तथा प्रसूति सेवाका लागि स्वास्थ्य संस्था, परिवार र समाज सबैको भूमिका महत्वपूर्ण हुन्छ। त्यसका लागि महिलाको स्वास्थ्यसँगै मानसिक स्वास्थ्यलाई पनि स्वास्थ्य सेवाको अभिन्न अंगका रूपमा अघि बढाउन आवश्यक रहेको उनले बताइन्।