वैदेशिक लगानी विस्तारमा चीनको अग्रता

  • Clock icon
    २०८३ जेष्ठ १५, शुक्रबार

काठमाडौं । नेपालमा स्वीकृत वैदेशिक लगानीका आधारमा चीन सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्रका रूपमा देखिएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार फागुनसम्मको तथ्यांकमा चीनको हिस्सा कुल स्वीकृत वैदेशिक लगानीको ४८ प्रतिशत पुगेको छ।

सर्वेक्षणअनुसार भारतको हिस्सा १७.९ प्रतिशत रहेको छ भने अन्य मुलुकहरूको संयुक्त हिस्सा ३४.१ प्रतिशत रहेको छ। परियोजनाको संख्याका आधारमा पनि चीन नै अग्रस्थानमा रहेको देखिएको छ। कुल स्वीकृत परियोजनामध्ये ४५.५ प्रतिशत चिनियाँ लगानीका रहेका छन् भने भारतको ११.९ प्रतिशत र अन्य देशहरूको ४२.६ प्रतिशत हिस्सा रहेको उल्लेख छ।

हाल नेपालमा वैदेशिक लगानी स्वचालित (अटोमेटिक) र अप्रुभल गरी दुई रुटमार्फत स्वीकृत हुँदै आएको छ। फागुनसम्म उद्योग विभागमार्फत कुल ७ हजार ९ सय ५१ परियोजनामा करिब ६ खर्ब २५ अर्ब ५८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ। यसमध्ये अटोमेटिक रुटबाट ९ सय ६८ तथा अप्रुभल रुटबाट ६ हजार ९ सय ८३ परियोजना रहेका छन्।

यसबाट करिब ३ लाख ६२ हजार ५ सय ४५ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म मात्रै ५ सय ५४ परियोजनामा ४० अर्ब ७० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने ४ सय २७ परियोजनामा ४४ अर्ब ६६ करोड रुपैयाँ लगानी स्वीकृत भएको थियो, जसले परियोजना संख्या बढे पनि लगानी रकम केही घटेको देखाएको छ।

क्षेत्रगत रूपमा हेर्दा सेवा क्षेत्रमा सबैभन्दा बढी २८.३ प्रतिशत वैदेशिक लगानी स्वीकृत भएको छ। ऊर्जा क्षेत्रमा २३.०३ प्रतिशत र उत्पादनमूलक क्षेत्रमा १३.१८ प्रतिशत लगानी रहेको छ। खनिज उद्योगमा भने सबैभन्दा कम १.३ प्रतिशत मात्र वैदेशिक लगानी देखिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

  • Clock icon
    २०८३ जेष्ठ १५, शुक्रबार