काठमाडौं । इरानमाथि लागू गरिएको समुद्री नाकाबन्दी कार्यान्वयनलाई थप कडाइ गर्दै अमेरिकी सेनाले इरानको बन्दरगाहतर्फ अघि बढ्न खोजेको एक मालवाहक जहाजलाई रोक्न क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।
अमेरिकी केन्द्रीय कमाण्डका अनुसार गाम्बियाको झण्डा बोकेको उक्त मालवाहक जहाजले इरानी बन्दरगाहमा प्रवेश गर्ने प्रयास गरेको थियो। जहाजलाई रोक्न अमेरिकी सेनाले २० भन्दा बढी पटक चेतावनी दिएको दाबी गरेको छ। तर चेतावनीलाई बेवास्ता गरेपछि जहाजको इन्जिन कक्षलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ।
क्षेप्यास्त्र प्रहारपछि जहाज चल्न नसक्ने अवस्थामा पुगेको छ। हाल उक्त जहाज ओमानको खाडी क्षेत्रमा रोकिएको छ। अमेरिकी सेनाले जहाजमा प्रत्यक्ष नियन्त्रण लिन भने अझै कुनै कारबाही नगरेको जनाएको छ।
अमेरिकी सेनाका अनुसार नाकाबन्दी सुरु भएयता इरानतर्फ जान खोजेका छवटा जहाजलाई रोकिएको छ। तीमध्ये एउटा जहाजलाई आवश्यक जाँचपछि गन्तव्यतर्फ जान अनुमति दिइएको थियो भने ११६ वटा जहाजलाई आफ्नो मार्ग परिवर्तन गर्न बाध्य पारिएको दाबी गरिएको छ।
अमेरिकाले १७ अप्रिल २०२६ देखि इरानविरुद्ध समुद्री नाकाबन्दी लागू गरेको थियो। इरानले होर्मुज जलडमरूमध्य क्षेत्रमा समुद्री आवागमन प्रभावकारी रूपमा अवरुद्ध गरेपछि उक्त कदम चालिएको अमेरिकी पक्षको भनाइ छ।
पश्चिम एसियामा जारी तनाव २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि युद्धमा परिणत भएको थियो। यद्यपि हाल ७ अप्रिलमा भएको युद्धविराम कायम रहेको छ। युद्धविरामलाई थप ६० दिन लम्ब्याउने र इरानको आणविक कार्यक्रमबारे वार्ता अगाडि बढाउने विषयमा कूटनीतिक तहमा छलफल जारी रहेको बताइएको छ।
विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्यमा उत्पन्न तनावले अन्तर्राष्ट्रिय बजारमा तेल, प्राकृतिक ग्यास तथा मलको आपूर्तिमा असर पारिरहेको छ। यसको प्रभाव विश्व अर्थतन्त्र र उपभोक्ता बजारमा समेत देखिन थालेको विश्लेषण गरिएको छ।
अमेरिकाले इरानको व्यापार तथा तेल निर्यातलाई सीमित गर्दै उसमाथि आर्थिक दबाब बढाउने उद्देश्यले समुद्री नाकाबन्दी लागू गरिएको जनाएको छ। क्षेत्रीय सुरक्षा, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा यसको प्रभावका कारण पश्चिम एसियाको अवस्था विश्व समुदायको चासोको केन्द्रमा रहेको छ।
