काठमाडौँ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अधिकता कायम रहँदा नेपाल राष्ट्र बैंकले बजार व्यवस्थापनका लागि पुनः ठूलो परिमाणमा तरलता खिच्ने तयारी गरेको छ। केन्द्रीय बैंकले बुधबार निक्षेप सङ्कलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ संकलन गर्ने घोषणा गरेको हो।
राष्ट्र बैंकका अनुसार यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ। पछिल्लो समय कर्जाको माग अपेक्षाअनुसार नबढ्दा बैंक तथा वित्तीय संस्थाहरूमा ठूलो परिमाणमा तरलता थुप्रिएको छ। यही अतिरिक्त रकम व्यवस्थापन गर्न केन्द्रीय बैंकले नियमित रूपमा बजारबाट पैसा तान्ने नीति अवलम्बन गरिरहेको छ।
यसपटक प्रयोग गरिएको निक्षेप सङ्कलन उपकरणको अवधि ५६ दिन रहनेछ। संकलित रकमको साँवा तथा ब्याज आगामी साउन १३ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
बोलकबोल प्रक्रियामा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। साथै पाँच करोड रुपैयाँको गुणनफलका आधारमा कुल आह्वान गरिएको रकमभित्र रहने गरी बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र यस निक्षेप सङ्कलन कार्यक्रममा सहभागिता जनाउन पाउनेछन्। बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने सहभागी संस्थाहरूले बहुब्याजदरमा समेत एकभन्दा बढी प्रस्ताव पेश गर्न सक्नेछन्।
बजारमा पर्याप्त तरलता भए पनि कर्जाको माग कमजोर रहँदा बैंक तथा वित्तीय संस्थाहरूले उपलब्ध रकम लगानी गर्ने अवसर सीमित रूपमा पाएका छन्। त्यसका कारण उनीहरू न्यून ब्याजदरमै केन्द्रीय बैंकमा रकम जम्मा गर्न बाध्य भएका छन्। हाल यस्तो निक्षेप सङ्कलन उपकरणमा बैंकहरूले करिब ३ प्रतिशत हाराहारीको ब्याजदरमा रकम राखिरहेका छन्।
आर्थिक गतिविधिमा अपेक्षित विस्तार नहुँदा र निजी क्षेत्रको कर्जा माग सुस्त रहँदा बैंकिङ प्रणालीमा तरलताको चाप कायम छ। यही अवस्थालाई सन्तुलनमा राख्न राष्ट्र बैंकले खुला बजार कारोबारअन्तर्गत निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै मौद्रिक व्यवस्थापनलाई निरन्तरता दिएको छ।
