भायानेटको आकर्षक डिजिटल अफर

काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक Vianet Communications ले ग्राहकहरूका लागि वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज वार्षिक रु. १३ हजार ८०० (करसहित) मा उपलब्ध गराएको छ। उच्च गति, स्थिर कनेक्सन र आधुनिक इन्टरनेट अनुभव प्रदान गर्ने लक्ष्यसहित कम्पनीले यो योजना सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार यस प्याकेजअन्तर्गत सामान्यतया रु. २ हजार ८२५ पर्ने वाईफाई ६ ओएनयू जडान शुल्क नलाग्नेछ। ग्राहकले केवल रु. १ हजार डिपोजिट तिरेर सेवा जडान गर्न सक्नेछन्।

इन्टरनेट सेवासँगै ग्राहकहरूले मासिक रु. २५० (करसहित) थप गरी भायाटिभी सेवा पनि लिन सक्नेछन्। भायाटिभीमार्फत २०० भन्दा बढी टेलिभिजन च्यानल, प्रत्यक्ष प्रसारण रोक्ने र पुनः चलाउने सुविधा, कार्यक्रम तालिका, चलचित्र तथा विभिन्न सिरिजहरूको मनोरञ्जन सामग्री उपलब्ध हुने कम्पनीले जनाएको छ।

वार्षिक प्याकेज लिने ग्राहकहरूले पहिलो सेट–टप बक्सका लागि लाग्ने रु. २ हजार २६० सक्रियता शुल्कबाट समेत छुट पाउनेछन्। सेट–टप बक्सका लागि केवल रु. १ हजार डिपोजिट आवश्यक पर्ने व्यवस्था गरिएको छ।

ग्राहकलाई थप लाभ उपलब्ध गराउने उद्देश्यले भायानेटले Dami App सँग सहकार्य गरेको छ। यस योजनाअन्तर्गत वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकहरूले रु. १ हजार ५०० बराबरको एक वर्षे डामी एप सदस्यता निःशुल्क प्राप्त गर्नेछन्।

डामी एपमार्फत रेस्टुरेन्ट, कपडा पसल, सैलुन, खुद्रा व्यापारिक केन्द्रलगायत विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सकिनेछ। यो सुविधा हाल काठमाडौं, पोखरा र चितवनका ग्राहकहरूका लागि लागू गरिएको कम्पनीले जनाएको छ।

भायानेटका अनुसार उच्च गतिको वाईफाई ६ इन्टरनेट, भायाटिभीको मनोरञ्जन सेवा तथा डामी एपमार्फत प्राप्त हुने बचत सुविधाले ग्राहकहरूलाई घरभित्र र बाहिर दुवैतर्फ लाभ पुग्नेछ। कम्पनीले यस अभियानको सन्देश “अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै” राखेको छ।

यसैबीच, फुटबलप्रेमी ग्राहकहरूका लागि FIFA World Cup 2026 हेर्न आवश्यक कुपन पनि भायानेटमार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

नेपालमा प्रतियोगिताको प्रसारण अधिकार Himalaya Television सँग रहेको छ। हिमालय टेलिभिजनले तोकेको दरअनुसार ग्राहकहरूले प्रति टेलिभिजन रु. ९९९ तिरेर कुपन खरिद गर्न सक्नेछन्। त्यसपछि भायाटिभीमार्फत हिमालय स्पोर्ट्स च्यानलमा विश्वकपका खेलहरू प्रत्यक्ष हेर्न सकिनेछ।

कुपन खरिदका लागि ग्राहकहरूले ईसेवा, खल्ती, फोनपे तथा कनेक्ट आइपिएसजस्ता डिजिटल भुक्तानी माध्यम प्रयोग गर्न सक्नेछन्। साथै, भायाटिभीमा देखिने क्यूआर कोड स्क्यान गरेर पनि कुपन खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

भुक्तानी सम्पन्न भएपछि ग्राहकहरूले हिमालय स्पोर्ट्स च्यानल खोलेर खरिद गरिएको कुपन छनोट गरी सेवा सक्रिय गर्न सक्नेछन्। कम्पनीका अनुसार एउटा कुपन एउटा टेलिभिजनमा मात्र प्रयोग गर्न मिल्नेछ र एकपटक सक्रिय गरिसकेपछि अर्को टेलिभिजनमा स्थानान्तरण गर्न पाइने छैन।

थप जानकारीका लागि ग्राहकहरूले भायानेटको ग्राहक सेवा केन्द्र वा नजिकको सेवा कार्यालयमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।