काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को संस्थागत सुदृढीकरण, नेतृत्व चयन प्रक्रिया तथा ऊर्जा क्षेत्रको आगामी दिशाबारे छलफल गर्न आज विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।
‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ शीर्षकमा कार्यक्रम सोमबार साँझ ४ बजे बालुवाटारस्थित सिल्भर वर्क पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ। कार्यक्रममा इप्पानको संस्थागत सुधार, नेतृत्व प्रणाली, आगामी निर्वाचन रणनीति तथा २३ औँ वार्षिक साधारणसभाबाट पारित विधान संशोधनका विषयमा विस्तृत छलफल गरिनेछ।
इप्पानका अनुसार २४ औँ वार्षिक साधारणसभाको प्रमुख एजेन्डा बनेको विधान संशोधन प्रस्तावलाई केन्द्रमा राखेर ऊर्जा उद्यमीहरूबाट सुझाव संकलन गरिनेछ। प्राप्त सुझावका आधारमा आगामी नेतृत्व चयन र संस्थागत सुधारको दिशा तय गरिने बताइएको छ।
हालको विधानअनुसार इप्पानको अध्यक्ष बन्न कार्यसमितिमा प्रवेश गरेपछि विभिन्न पद हुँदै वरिष्ठ उपाध्यक्षसम्म पुग्न करिब नौ वर्ष लाग्ने व्यवस्था छ। यही प्रक्रियाले नेतृत्वमा सीमित समूहको प्रभाव कायम राखेको र नयाँ पुस्ताका व्यवसायीहरूको अवसर सीमित भएको भन्दै दुईतिहाइभन्दा बढी सदस्यहरूको समर्थनमा विधान संशोधनको पहल अघि बढाइएको आयोजक पक्षको भनाइ छ।
उक्त अन्तरक्रिया कार्यक्रम विधान संशोधनपछि हुने निर्वाचन र नेतृत्व संरचना सुधारको पक्षमा रहेको परिवर्तनकारी समूहको आयोजनामा भइरहेको हो। समूहमा इप्पानका महासचिव बलराम खतिवडा, उपाध्यक्ष भरतबहादुर खत्री, उपमहासचिव प्रकाशचन्द्र दुलाल, सचिव भरत नेपालसहित दुई दर्जनभन्दा बढी जलविद्युत् व्यवसायी सहभागी रहेका छन्।
कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी तथा पूर्वअध्यक्षहरू कृष्णप्रसाद आचार्य, शैलेन्द्र गुरागाईं, डा. सुवर्णदास श्रेष्ठ र डा. सन्दीप शाह लगायतको उपस्थिति रहने बताइएको छ।
आयोजकले ऊर्जा व्यवसायी, लगानीकर्ता, पत्रकार तथा सरोकारवालालाई कार्यक्रममा सहभागी भई सुझाव दिन आग्रह गरेको छ। कार्यक्रममार्फत ऊर्जा क्षेत्रका सरोकारवालाबीच साझा धारणा निर्माण गर्दै इप्पानलाई थप लोकतान्त्रिक, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
