बालेन सरकार भारतसँग ठोस सहकार्य गर्न तयार-परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री शिशिर खनालले बालेन सरकार भारतसँग ठोस सहकार्य गर्न तयार रहेको बताएका छन्।

नयाँ दिल्लीमा आज शनिबार साँझ भारतीय विदेशमन्त्री एस। जयशंकरसँगको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठत नेता वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार भारतसँग सहकार्य गर्न तयार रहेको बताएका हुन्। नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताउँदै खनालले भने, ‘बालेन सरकार दिल्लीसँग ठोस र उद्देश्यपूर्ण रूपमा सहकार्य गर्न तयार छ।’

भेटवार्ताका क्रममा मन्त्री खनालले भारतसँगको सम्बन्धलाई सबैभन्दा महत्त्वपूर्ण सम्बन्धका रुपमा उल्लेख गरेका छन्। मध्यपूर्वको युद्धका समयमा पनि इन्धन र रासायनिक मल आपूर्ति गरेकोमा भारतलाई धन्यवाद दिए।

भारत नेपालको सबैभन्दा महत्त्वपूर्ण साझेदार भएको पनि खनालले बताए। ‘नेपालले भारतलाई उच्च प्राथमिकतामा राखेको छ। नेपाल भारतसँग ठोस र सघन रूपमा संवाद अगाडि बढाउन तयार छ,’ उनले भने।

बालेन नेतृत्वको सरकारसँग विगोका बोझ नभएको उनले सुनाए। त्यसैले अब वर्तमान सरकार नयाँ शिराबाट सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।

‘हामीसँग विगतको कुनै पनि पुरानो बोझ छैन,’ खालले भने, ‘हाम्रो सबैभन्दा महत्त्वपूर्ण साझेदार भारतसँग वास्तविक र रूपान्तरणकारी सम्बन्ध निर्माण गर्न नेपाल सरकार दृढ संकल्पित छ।’

रास्वपाको सरकारले सुशासन, आर्थिक रूपान्तरण र परिणाममुखी कूटनीतिका लागि स्पष्ट र निर्णायक जनमत बोकेको परराष्ट्रमन्त्री खनालले उल्लेख गरे। त्यसै आधारमा भारतसँग सहकार्य गरिने उनको भनाइ थियो।

भेटवार्ताका क्रममा भारतीय विदेशमन्त्री एस। जयशंकरले पनि नेपाल र भारतको विशेष सम्बन्धी रहेको उल्लेख गरे। उनले मध्यपूर्वको युद्धबीच पनि नेपाललाई भारतले सहयोग गरेको स्मरण गराए।

‘मध्य पूर्वको युद्धबीच पनि हामीले नेपालमा इन्धनको निरन्तर आपूर्ति सुनिश्चित गरेका छौँ,’ जयशंकरले भने, ‘हामी आवश्यकता परेको बेला एकअर्काको साथमा उभिएका छौँ।’

जयशंकरले नेपालसँगको सम्बन्धलाई एआई, स्टार्टअप, सूचना प्रविधि र नवीकरणीय ऊर्जाका क्षेत्रमा अगाडि बढाउने उद्देश्य रहेको बताए। उनले भारत सरकार नेपालको नयाँ सरकारसँग सहकार्य र सहयोग गर्न तयार रहेको बताए।

 

 

नेपालखबरबाट साभार