नेपाली चिया निर्यात समस्या समाधानका लागि परराष्ट्रमन्त्रीसँग व्यवसायीहरूको छलफल

काठमाडौं, असार १८। नेपाली चिया निर्यातमा देखिएको अवरोध तथा त्यसबाट चिया उद्योग र व्यवसायीहरूमा परेको असरबारे छलफल गर्न नेपाल उद्योग वाणिज्य महासङ्घका बस्तुगत तर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको अगुवाईमा उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ एवं वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, निवर्तमान बस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकाल समेत सहभागी भएको प्रतिनिधिमण्डलले नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनाल सँग भेटवार्ता गरेको छ।
भेटमा नेपाल चिया व्यवसायी सङ्घका अध्यक्ष आदित्य पराजुली लगायत विभिन्न चिया उद्योग तथा व्यवसायीहरूको सहभागिता रहेको थियो।

छलफलका क्रममा प्रतिनिधिमण्डलले पछिल्लो समय नेपाली चिया निर्यातमा देखिएको अवरोध, त्यसका कारण उद्योग तथा किसानहरूमा परेको आर्थिक प्रभाव तथा निर्यात प्रक्रियामा देखा परेका प्राविधिक र प्रशासनिक समस्याबारे मन्त्री समक्ष विस्तृत जानकारी गराएको थियो।

व्यवसायीहरूको भनाइ अनुसार निर्यातमा आएको अवरोधका कारण चिया उद्योगहरू प्रभावित भएका छन् भने हजारौं चिया किसान र श्रमिकसमेत प्रत्यक्ष असरमा परेका छन्। उनीहरूले समस्या समाधानका लागि नेपाल सरकारबाट तत्काल कूटनीतिक तथा संस्थागत पहल आवश्यक रहेको धारणा राखेका थिए।

सो अवसरमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातसँग सम्बन्धित समस्याको समाधानका लागि तत्काल नेपालस्थित सम्बन्धित निकायहरू, भारतीय पक्षसँगको कूटनीतिक समन्वय, तथा कोलकाता स्थित नेपाली महावाणिज्य दूतावासमार्फत आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ। उहाँले दीर्घकालीन रूपमा यस्ता समस्या दोहोरिन नदिन नेपालमै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको परीक्षण प्रयोगशाला (ल्याब) स्थापना गरी गुणस्तर प्रमाणीकरणको व्यवस्था सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सरकार यस विषयमा आवश्यक सहजीकरण गर्न सकारात्मक रहेको बताउनुभयो।

भेटवार्तामा प्रतिनिधिसभा उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति माननीय रहबर खान अन्सारी, प्रतिनिधिसभा सदस्य माननीय गणेश पराजुली, उद्योग मन्त्रालयका सचिव तथा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको समेत उपस्थिति रहेको थियो। उपस्थित सहभागीहरूले नेपाली चिया उद्योग देशको महत्वपूर्ण निर्यातमुखी क्षेत्र भएकाले यसको दीर्घकालीन संरक्षण, गुणस्तर अभिवृद्धि तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता विस्तारका लागि सरकार र निजी क्षेत्र बिच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष नरेशलाल श्रेष्ठले चिया निर्यातमा देखिएको समस्या समाधानका लागि महासङ्घ निरन्तर सक्रिय रहेको बताउँदै सरकार, निजी क्षेत्र र सरोकारवाला निकाय बिच समन्वय गरेर चाँडै सकारात्मक परिणाम हासिल हुने विश्वास व्यक्त गर्नुभयो।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले चिया निर्यातमा देखिएको समस्या सामान्य नभएको र यो समस्याले यो पेशामा आबद्ध किसान र उद्योगीलाई ठूलो समस्या रहेको कुरा राख्दै समाधानका लागि महासङ्घ हरपहल अगाडि बढ्ने कुरा बताए भने वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले महासंघ सधैं यस्ता विषयमा निरन्तर सक्रिय रही सरकार, निजी क्षेत्र र सरोकारवाला निकाय बिच समन्वय गर्दै काम गर्ने गरेको कुरा बताउनु भयो ।

हाल केही समयदेखि नेपाली चिया निर्यात प्रभावित हुँदै आएको अवस्थामा भएको यो उच्चस्तरीय भेटवार्तालाई समस्या समाधानतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। व्यवसायीहरूले पनि सरकारको सक्रियता र कूटनीतिक पहलबाट निकट भविष्यमा निर्यात प्रक्रिया पुनः सहज हुने अपेक्षा व्यक्त गरेका छन्।