काठमाडौं । एम.एस. प्रोडक्सन प्रालिले ‘फेस अफ नेपाल २०२६’ को औपचारिक घोषणा गरेको छ। दक्षिण कोरियामा आयोजना हुने अन्तर्राष्ट्रिय एसिया मोडल फेस्टिभलको नेपालका लागि आधिकारिक फ्रेन्चाइजका रूपमा सञ्चालन हुने यस प्रतियोगिताले नेपाली युवा मोडलहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।
आयोजकका अनुसार दक्षिण कोरियामा प्रत्येक वर्ष आयोजना हुने एसिया मोडल फेस्टिभलमा एसियाका २८ भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने गर्छन्। फेस अफ नेपाल २०२६ का विजेताहरूले नेपालका तर्फबाट उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्।
प्रतियोगिताको ग्रान्ड फिनाले आगामी अगस्ट ३०, २०२६ मा काठमाडौंस्थित रोयल टुलिप होटलमा आयोजना हुने भएको छ। कार्यक्रममा फेसन तथा मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।
नेपालभरका १७ देखि ३० वर्ष उमेर समूहका महिला तथा पुरुषले प्रतियोगितामा सहभागी हुन सक्नेछन्। यसपटक प्रतियोगितामा उचाइ (हाइट) सम्बन्धी कुनै मापदण्ड नराखिएको भन्दै आयोजकले आत्मविश्वास, लगनशीलता र मोडलिङप्रतिको रुचि भएका सबै युवायुवतीलाई आवेदन दिन आग्रह गरेको छ।
प्रतियोगिताका लागि आवेदन प्रक्रिया खुला भइसकेको छ। इच्छुकहरूले फेस अफ नेपाल २०२६ को आधिकारिक पेज तथा आधिकारिक भोटिङ पार्टनर एभेन्टोज (ब्खभलतयश) मार्फत आवेदन दिन सक्नेछन्।
दर्ताका लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ भने प्रारम्भिक छनोटमा परेका प्रतियोगीहरूले १५ हजार रुपैयाँ सहभागिता शुल्क बुझाउनुपर्नेछ।
प्रतियोगिताका सहभागीहरूले फिटनेस तथा व्यक्तित्व विकास, ग्रुमिङ, व्यावसायिक स्टाइलिङ, मोडलिङ तथा स्टेज प्रस्तुति प्रशिक्षणलगायत विभिन्न व्यावसायिक तालिम प्राप्त गर्नेछन्। प्रतियोगिता विभिन्न चरणमा सञ्चालन हुने र
सहभागीहरूको आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, सिर्जनशीलता तथा मोडलिङ क्षमताको मूल्याङ्कन गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको पहिलो चरणको अडिसन जुलाई ११, २०२६ मा हुनेछ। प्रशिक्षण, आगामी चरण तथा अन्य कार्यक्रमको जानकारी क्रमशः आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ।
आयोजकका अनुसार प्रतियोगिताका विजेताहरूले दक्षिण कोरियामा हुने एसिया मोडल फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्ने अवसरसँगै मोडलिङ तथा फेसन उद्योगमा व्यावसायिक रूपमा अघि बढ्ने अवसर पनि प्राप्त गर्नेछन्।
एम.एस. प्रोडक्सन प्रालिले ’फेस अफ नेपाल २०२६’ केवल मोडलिङ प्रतियोगिता नभई नयाँ प्रतिभाको खोजी, व्यक्तित्व विकास र नेपाली मोडलहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने सशक्त मञ्चका रूपमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ।
