चिनियाँ ‘लङ मार्च’ को ९०औँ वार्षिकोत्सव : नयाँ यात्राका लागि सी चिनफिङको आह्वान

चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ लालसेनाको ऐतिहासिक ‘लङ मार्च’ विजयको ९०औँ वार्षिकोत्सवका अवसरमा इतिहासबाट प्रेरणा लिँदै नयाँ उपलब्धि हासिल गर्न आह्वान गरेका छन्। उनले इतिहासलाई स्मरण गर्नु उज्ज्वल भविष्य निर्माणका लागि आवश्यक रहेको बताएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षस सीले बेइजिङमा आज बिहिबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै लङ मार्चको ऐतिहासिक महत्व र त्यसबाट प्राप्त शिक्षालाई वर्तमान चीनको विकास यात्रासँग जोडेर व्याख्या गरेका हुन् ।

लङ मार्चका क्रममा जीवन बलिदान गरेका क्रान्तिकारी योद्धाप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रममा सहभागीहरूलाई एक मिनेट मौनधारण गर्न आह्वान गरेका थिए ।

लङ मार्च: चिनियाँ क्रान्तिको निर्णायक अध्याय

सन् १९३४ अक्टोबरदेखि १९३६ अक्टोबरसम्म चिनियाँ लालसेनाले १० भन्दा बढी प्रान्त पार गर्दै कठिन सैन्य यात्रा पूरा गरेको थियो। चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा महत्वपूर्ण मानिने सो यात्राले चिनियाँ क्रान्तिलाई नयाँ दिशा दिएको सीको भनाइ छ ।

लङ मार्चका क्रममा लालसेनाले करिब १२ हजार ५०० किलोमिटर यात्रा गरेको थियो। सन् १९३४ मा च्याङ् काई सेक नेतृत्वको कुओमिन्ताङ शासनको घेराबन्दी र दमन अभियानका कारण लालसेना च्याङ्सी र फुचियान प्रान्तमा रहेको आफ्नो मुख्य आधार क्षेत्रबाट पछाडि हट्न बाध्य भएको थियो।

यात्राका क्रममा सेनाले झन्डै एक सय नदी र ४० भन्दाबढी अग्ला पहाड पार गरेको थियो भने कठिन सिमसार क्षेत्र हुँदै ६०० भन्दा बढी लडाइँ लडेको विवरणमा उल्लेख छ। यात्रा सुरु गर्दा करिब ८६ हजार सैनिक रहेको लालसेनाको संख्या सियाङचियाङ नदीको भीषण युद्धपछि ३० हजारको हाराहारीमा झरेको थियो।

सन् १९३६ अक्टोबरमा लालसेनाका तीन प्रमुख सैन्य समूह उत्तरपश्चिम चीनमा एकत्रित भएपछि लङ मार्चको अन्त्य भएको थियो। त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीले उत्तरी शान्सीमा आफ्नो आधार क्षेत्रलाई बलियो बनाउँदै यानआनलाई प्रमुख केन्द्र बनायो ।

युदुबाट सुरु भएको ऐतिहासिक यात्रा

चीनको च्याङ्सी प्रान्तस्थित युदु काउन्टीलाई लङ मार्चको प्रारम्भिक प्रस्थानस्थलका रूपमा स्मरण गरिन्छ। सन् १९३४ अक्टोबरमा करिब ८६ हजार लालसेना सैनिकले युदु नदी पार गर्दै ऐतिहासिक यात्रा सुरु गरेका थिए।

लङ मार्चको ९०औँ वार्षिकोत्सवका अवसरमा युदुमा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्। त्यहाँको नदी किनारमा आयोजित एक कार्यक्रममा गायन समूहले घर छाडेर यात्रामा निस्किएका सैनिकहरूको सम्झनामा कर्णप्रिय गीत प्रस्तुत गरेको थियो। सहभागीहरूका छेउमा ‘लङ मार्चको भावना सधैँ चम्किरहोस्’ भन्ने अर्थ दिने चिनियाँ अक्षरहरू राखिएका थिए ।

राष्ट्रपति सीले सन् २०१९ मेमा युदुको भ्रमण गरेका थिए। त्यस क्रममा उनले लङ मार्चको स्मारकमा पुष्पाञ्जली अर्पण गर्नुका साथै लालसेनाले नदी पार गरेको स्थानको अवलोकन र सैनिकका सन्ततिसँग भेटघा गरेका थिए ।

त्यस अवसरमा उनले पार्टीले आफ्नो प्रारम्भिक उद्देश्य र प्रतिबद्धता नबिर्सिएको सन्देश देशभर पुर्याउन आफू त्यहाँ आएको बताएका थिए। सीले विगतका उपलब्धिलाई आधार बनाउँदै नयाँ यात्रामा अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् ।

‘नयाँ लङ मार्च’ र आधुनिक चीनको लक्ष्य

चिनियाँ नेतृत्वले लङ मार्चलाई ऐतिहासिक सैन्य अभियानका रूपमा मात्र नभई राष्ट्र निर्माणको दीर्घकालीन यात्राको प्रतीकका रूपमा व्याख्या गर्दै आएको छ। सन् १९४९ मा जन गणतन्त्र चीन स्थापना भएपछि देशको आर्थिक तथा सामाजिक विकासलाई पनि यही यात्रासँग जोडेर हेरिएको छ।

सन् १९७८ मा सुधार तथा खुलापनको नीति सुरु भएपछि चीनले आधुनिकीकरणलाई तीव्रता दिँदै आएको छ । तत्कालीन खुल्ला तथा सुधारवादी नेता तङ् स्याओपिङले अघि सारेको आधुनिकीकरण रणनीतिले चीनको आर्थिक विकास र औद्योगिकीकरणलाई नयाँ दिशा दिएको हो ।

सीले वर्तमान चीनको यात्रालाई ‘नयाँ लङ मार्च’ का रूपमा प्रस्तुत गर्दै सन् २०३५ सम्म आधारभूत आधुनिकीकरण हासिल गर्ने र सन् २०४९ मा जनवादी गणतन्त्र स्थापनाको शतवार्षिकीसम्म चीनलाई पूर्ण रूपमा आधुनिक समाजवादी राष्ट्र बनाउने लक्ष्य अघि सारेका छन्।

उनका अनुसार यी लक्ष्य हासिल गर्न पार्टीको नेतृत्व, राष्ट्रिय एकता, दृढ विश्वास र जनताको समर्थन महत्वपूर्ण छन्। उनले माक्र्सवादका आधारभूत सिद्धान्तलाई चीनको विशिष्ट परिस्थितिसँग जोडेर देशका समस्या समाधान गर्नुपर्नेमा पनि जोड दिएका छन्।

प्रविधि, आर्थिक विकास र आत्मनिर्भरता

सी नेतृत्वको चीनले आर्थिक विकाससँगै विज्ञान तथा प्रविधिमा आत्मनिर्भरता बढाउने लक्ष्यलाई प्राथमिकता दिएको छ। कृत्रिम बुद्धिमत्ता, क्वान्टम प्रविधि, नयाँ ऊर्जा, रोबोटिक्स र आधुनिक औद्योगिक उत्पादनलाई चीनको भावी विकासका प्रमुख क्षेत्रका रूपमा अघि सारिएको छ।

सन् २०१२ मा चीनको कुल गार्हस्थ्य उत्पादन करिब ५४ ट्रिलियन युआन रहेकोमा सन् २०२५ सम्ममा आइपुग्दा १४० ट्रिलियन युआनभन्दा बढी पुगेको छ। यस अवधिमा चीनले आफ्नो औद्योगिक आधार विस्तार गर्नुका साथै उच्च गतिको रेलमार्ग, एक्सप्रेसवे, नवीकरणीय ऊर्जा र वैज्ञानिक अनुसन्धानमा ठूलो लगानी गरेको छ।

अन्तर्राष्ट्रिय व्यापारमा बढ्दो प्रतिस्पर्धा, प्रविधिमाथिका प्रतिबन्ध र आपूर्ति शृङ्खलामा देखिएका र उत्पन्न हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै चीनले स्वदेशी नवप्रवर्तन र औद्योगिक आत्मनिर्भरतालाई प्राथमिकता दिएको छ।

सीले नयाँ प्रविधिको विकाससँगै आर्थिक सुरक्षा, वातावरण संरक्षण र सन्तुलित क्षेत्रीय विकासलाई पनि महत्त्व दिएका छन्। यद्यपि आधुनिकीकरणको लक्ष्य हासिल गर्न चीनले विभिन्न आर्थिक, सामाजिक र अन्तर्राष्ट्रिय चुनौती सामना गर्नुपर्ने उनको भनाइ छ।

जनताको समर्थन र भ्रष्टाचारविरुद्धको अभियान

लङ मार्चको ऐतिहासिक अनुभवबाट जनतासँगको सम्बन्ध, त्याग र सामूहिक प्रयासको महत्त्व सिक्न सकिने सीले बताएका छन्। उनका अनुसार जनताको समर्थन नै पार्टी र जनमुक्ति सेनाको प्रमुख शक्ति हो।

लङ मार्चका क्रममा युदुका स्थानीय बासिन्दाले लालसेनालाई नदी पार गराउन घरका ढोका र ओछ्यानका लागि प्रयोग गरिएका काठ प्रयोग गरी अस्थायी पुल बनाएको विवरणमा उल्लेख छ। यात्राका क्रममा स्थानीय बासिन्दाले सैनिकलाई खाद्यान्न उपलब्ध गराउनुका साथै बाटो देखाउने र घाइतेलाई आश्रय दिने काम गरेका थिए।

सीले गरिबी न्यूनीकरणलाई पनि आधुनिक चीनको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्। चिनियाँ सरकारी विवरणअनुसार पछिल्लो आठ वर्षको अभियानमा ग्रामीण क्षेत्रका करिब १० करोड नागरिकको आर्थिक स्तरलाई चरम गरिबीबाट माथि उठाइएको छ ।

यसका साथै सी नेतृत्वले सरकारी अधिकारीहरूमा देखिएका भ्रष्टाचार, नातावाद र अधिकारको दुरुपयोग नियन्त्रण गर्न अभियान सञ्चालन गरेको छ । भ्रष्टाचारले पार्टी र राज्य दुवैको अस्तित्वमा जोखिम निम्त्याउन सक्ने भन्दै उनले सार्वजनिक अधिकारलाई संस्थागत निगरानी र नियन्त्रणभित्र राख्नुपर्नेमा जोड दिएका हुन् ।

लङ मार्चको अन्तर्राष्ट्रिय सन्देश

लङ मार्चको इतिहास चीनभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि अध्ययन र चर्चाको विषय बनेको छ। विभिन्न देशका विद्वान् तथा सैन्य अधिकारीहरूले यसलाई कठिन परिस्थितिमा संगठन, अनुशासन, आत्मनिर्भरता र दृढ सङ्कल्पको उदाहरणका रूपमा व्याख्या गरेका छन्।

सीले चीनको विकास यात्रालाई विश्व शान्ति र साझा समृद्धिसँग जोड्दै अन्तर्राष्ट्रिय सहयोग, विकासशील राष्ट्रबीचको सहकार्य र विश्वव्यापी शासन प्रणालीमा सुधारको आवश्यकता औँल्याएका छन्।

चीनले अघि सारेका विश्वव्यापी विकास, सुरक्षा, सभ्यता र शासनसम्बन्धी पहललाई उसले अन्तर्राष्ट्रिय चुनौती समाधान गर्ने प्रस्तावका रूपमा प्रस्तुत गर्दै आएको छ। यद्यपि यी पहलहरूको प्रभावकारिता र अन्तर्राष्ट्रिय भूमिकाबारे विभिन्न देश तथा विश्लेषकका दृष्टिकोण फरक–फरक छन्।

चीनले लङ मार्चको ऐतिहासिक स्मृतिलाई वर्तमान विकास लक्ष्यसँग जोडिरहेको सन्दर्भमा राष्ट्रपति सीले आगामी दिनमा पनि कठिनाइको सामना गर्दै आधुनिकीकरण र राष्ट्रिय पुनरुत्थानको लक्ष्यतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनका अनुसार लङ मार्चको भावना दृढ विश्वास, सत्यको खोजी, न्याय र एकतामा आधारित छ। यही भावनाले चीनलाई भविष्यका चुनौती सामना गर्न प्रेरित गर्ने उनको भनाइ छ।

लङ मार्चको ९०औँ वार्षिकोत्सवले चीनका लागि क्रान्तिकारी इतिहासको स्मरण मात्र नभई आर्थिक आधुनिकीकरण, वैज्ञानिक नवप्रवर्तन, जनताको जीवनस्तर सुधार र राष्ट्रिय पुनरुत्थानको दीर्घकालीन लक्ष्यलाई पुन: जोड दिने अवसरका रूपमा महत्व पाएको छ।