‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक, सामाजिक सद्भाव कायम गर्न रेखा थापाको अपिल

चलचित्र ‘माया भनेकै यस्तो होला’ को पहिलो टाइटल गीत शुक्रबार काठमाडौंको कमलादीस्थित बिग मुभिजमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ ।

गीत सार्वजनिक कार्यक्रममा निर्देशक रेखा थापाले पछिल्लो समय तराई–मधेशमा विकसित घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र मानवीयताको पक्षमा सबैले संयमित भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

उनले सामाजिक सञ्जाल तथा सार्वजनिक अभिव्यक्तिमार्फत सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गर्दै सरकारले पनि वर्तमान परिस्थितिलाई छिटो नियन्त्रणमा ल्याउन आवश्यक पहल गर्नुपर्ने धारणा राखिन् ।

‘तराईमा भइरहेको घटना अत्यन्तै दुःखद छ। आफ्नैबीचको द्वन्द्व अन्त्य हुनुपर्छ । राज्यले पनि यसलाई छिट्टै सन्तुलनमा ल्याउनुपर्छ,’ उनले भनिन् ।

थापाले हिंसामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस्ता घटना दोहोरिन नहुने कामना गरिन् । धर्मको मूल आधार मानवीयता भएको उल्लेख गर्दै उनले समाजमा प्रेम, सहिष्णुता र आपसी सम्मानको भावना विस्तार हुनुपर्नेमा जोड दिइन् ।

चलचित्रको विषयवस्तुबारे बोल्दै उनले प्रेमलाई कुनै एक सम्बन्धमा मात्र सीमित गर्न नहुने धारणा राखिन् । उनका अनुसार प्रेम परिवार, साथीभाइ, समाज र राष्ट्रप्रति पनि हुन सक्छ र समाजमा बढ्दो द्वन्द्वको एउटा कारण आपसी आत्मीयता र प्रेमको अभाव पनि हो ।

कार्यक्रममा अभिनेत्री नम्रता श्रेष्ठले चलचित्रको गीतप्रति दर्शकले सकारात्मक प्रतिक्रिया दिने विश्वास व्यक्त गरिन् । गीत हेर्दा कथावस्तुबारे केही अन्योल देखिए पनि त्यसको वास्तविक अर्थ बुझ्न चलचित्र नै हेर्नुपर्ने उनले बताइन् ।

उनले चलचित्र आगामी भदौ २६ गते, तीजको अवसरमा प्रदर्शनमा आउने जानकारी दिँदै निर्देशक रेखा थापाको निर्देशनमा बनेको चलचित्र निकै उत्कृष्ट बनेको दाबी गरिन् ।

छायांकन अनुभवबारे बोल्दै श्रेष्ठले कोशी क्षेत्रमा प्रतिकूल मौसमका बीच गीतको छायांकन गरिएको स्मरण गरिन् । मौसमका कारण केही कठिनाइ भए पनि अन्तिम परिणाम निकै राम्रो आएको भन्दै सम्पूर्ण मेहनत सफल भएको बताइन् ।

रेखा थापासँग पहिलोपटक काम गर्दा सुरुमा केही डर लागेको भए पनि काम गर्दै जाँदा उहाँबाट धेरै कुरा सिक्ने अवसर प्राप्त भएको उनले सुनाइन् । निर्देशन, कार्यशैली र कलाकारसँगको व्यवहारबाट आफूले आगामी चलचित्र यात्राका लागि उपयोगी अनुभव हासिल गरेको उनको भनाइ थियो ।

प्रेमबारे आफ्नो धारणा राख्दै श्रेष्ठले प्रेमको सुरुआत आफूबाट हुने र त्यसपछि परिवार, साथीभाइ तथा समाजसम्म विस्तार हुने भावना भएको बताइन् । प्रेमलाई केवल रोमान्टिक सम्बन्धमा सीमित गरेर हेर्न नहुने उनको धारणा थियो ।

कार्यक्रममा चलचित्रका कलाकार तथा निर्माण टोलीको उपस्थिति रहेको थियो ।