कारोबार हुने साताको दोश्रो दिन आज शेयर बढ्यो, ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार

  • Clock icon
    २०८३ आश्विन २७, मंगलवार

साताको दोस्रो कारोबार दिन आज मंगलबार शेयर बजारमा सामान्य वृद्धि भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले आज मंगलबार पनि सोही लयलाई कायम राखेको हो। परिसूचकमा सामान्य सुधार देखिँदा बजारको कारोबार रकमसमेत बढेको छ।

आज नेप्से परिसूचक ४.१२ अंकले बढेर २ हजार ५९९.९३ विन्दुमा पुगेको छ। आज क वर्गका कम्पनीको उपसूचक सेन्सेटिभ इण्डेक्स २.३५ अंकले बढेको छ। त्यस्तै, फ्लोट इण्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंकले वृद्धि भएका छन्।

नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकममा वृद्धि देखिएको छ। अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ४६ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा आज ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार रुपैयाँको खरिदबिक्री भएको छ। ३५१ वटा स्टकको ४६ हजार ६५९ पटकको कारोबारमा १ करोड ३५ लाख ५३ हजार कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
मंगलबार सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक १२.४४ प्रतिशतले बढेको छ। अन्य कम्पनीको शेयर मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

यता, स्नो रिभर्सको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य १४९ रुपैयाँ ९० पैसाले घटेर प्रतिकित्ता ८४९ रुपैयाँ ४० पैसामा झरेको छ। त्यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि करिब १३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको मंगलबार ३६ करोड ४७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, माउन्टेन इनर्जी नेपालको करिब २६ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने कुमारी बैंकको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ।

मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये पाँचवटाको परिसूचक बढेको छ भने ८ वटाको घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १।७७ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ, विकास बैंक, लगानी र निर्जीवन बीमा उपसमूहका परिसूचकमा सामान्य वृद्धि भएको छ। बाँकी आठ उपसमूहका परिसूचक भने घटेर बन्द भएका छन्।