रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि नेपालले अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धता खोजिरहेको छ।
पछिल्ला दिनमा अमेरिका, चीन, भारत, जापान, अस्ट्रेलिया, कोरिया, युरोपेली संघ र कतारका उच्च सरकारी अधिकारी तथा प्रतिनिधिहरूले प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल लगायतसँग संवादमा रहेर सहयोग गरिरहेका छन्।
नेपाल सरकारका अधिकारी मात्रै होइन सत्तारुढ पार्टीका सभापति रवि लामिछानेसँग पनि विदेशी नेताहरूले छलफल गर्दै सहयोगको हात बढाइरहेका छन्।
यसै क्रममा सोमबार अमेरिकी विदेशमन्त्री मार्को रुबियो र लामिछानेबीचको टेलिफोन वार्ता भएको छ।
भोटेकोसी विपदपछि नेपालका नेतासँग अमेरिकी अधिकारीले गरेको यो नै सबैभन्दा उच्च संवाद हो। उद्यपी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सहयोग गर्ने आश्वासन दिएको भिडिओ यसअघि नै बाहिरिएको थियो।
रुबियोले भोटेकोसी बाढीमा भएको मानवीय क्षतिप्रति दुस्ख व्यक्त गर्दै नेपाल र नेपाली जनताप्रति अमेरिकी ऐक्यबद्धता जनाएको सभापति लामिछाने निकट नेताहरूले बताएका छन्। आवश्यक परे अमेरिकाले नेपाललाई थप सहयोग गर्न तयार रहेको उनले आश्वासन पनि दिएका छन्।
लामिछानेले अमेरिकी सहयोगप्रति आभार व्यक्त गर्दै सरकारले खोज, उद्धार र राहतका लागि उपलब्ध स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराए।
भोटेकोसी विपदपछि भदौ १६ गते नेपालका लागि चिनियाँ राजदूत माओ मिङले पनि लामिछानेलाई निवासमै पुगेर भेटेका थिए।
त्यसक्रममा उनले भोटेकोसी बाढीबाट भएको क्षतिप्रति दुस्ख व्यक्त गर्दै चीन खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्म नेपालसँगै रहने प्रतिबद्धता जनाएको रास्वपाका नेताहरू बताउँछन्।
यस्तै, जापानी राजदूत माएदा तोरु र युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले पनि लामिछानेसँग भेटवार्ता गरेका थिए।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रधानमन्त्री शाह वा ‘काउन्टर पार्ट’ शिशिर खनाललाई फोन नगरी सभापति लामिछानेसँगै कुरा गर्नुको कुटनीतिक कारणबारे अहिले विश्लेषण पनि भइरहेको छ।
कतिपयले यसलाई अमेरिकी विशेष दूत सर्जियो गोरसँग लामिछानेले दुई पटक भेट गरेको सन्दर्भसँग जोडेर पनि हेरेका छन्।
बालेन सरकार बनेपछि काठमाडौँ आएका गोरलाई प्रधानमन्त्री शाहले भेट दिएनन्, तर लामिछानेसँग उनको भेट भयो। एक महिनाभित्रै भारत भ्रमणमा गएका लामिछानेसँग गोरले फेरि दिल्लीमा पनि भेटे। जसले लामिछानेका लागि अमेरिकासँग कुटनीतिक सम्बन्ध स्थापना गर्न सहयोग पुग्यो।
त्यसो त भारत भ्रमण गरेर प्रधानमन्त्री नरेन्द्र मोदीको टिमसँग राम्रो सम्बन्ध बनाएका लामिछाने चीन भ्रमण पनि गर्ने तयारीमा छन्।
अहिले विपद्का बेला विदेशी नेताहरूले नेपाललाई सहयोगको प्रतिबद्धता जनाउनु र राजनीतिक नेतृत्वसँग संवाद गर्नु स्वाभाविक हो।
रास्वपाका प्रवक्ता जगदीश खरेल त्यस्तै ठान्छन्।
‘संसदीय प्रजातान्त्रिक व्यवस्थामा सरकार पार्टीले चलाउने हो, हाम्रो अभ्यास त्यही हो,’ उनले भने, ‘पछिल्लो समय बाढीको नेपाल विपदमा परेपछि विदेशी नेताहरूले पनि सत्तारुढ दलको सभापतिसँग द्वीपक्षीय र बहुपक्षीय सौहार्दपूर्ण सम्बन्ध राख्न खोज्नु स्वाभाविकै हो।’
विदेशी नेताहरूले सरकारसँग औपचारिक सम्बन्ध र पार्टी सभापतिसँग समानान्तर सम्पर्क कायम राख्न खोजेको हुन सक्छ। रास्वपाका महामन्त्री विपिन आचार्य विदेशी नेताहरूको कहिले प्रधानमन्त्रीसँग कहिले पार्टी सभापतिसँग कुरा हुनु सामान्य प्रक्रिया भएको बताउँछन्।
‘पार्टी सभापतिसँग कुरा भएको विषयलाई फरक कोणबाट हेर्नु हुँदैन,’ उनले भने, ‘सबै जना कलेक्टिभ्ली लागिरहनुपर्ने विपत्तिको बेलामा यस्तो विषय राजनीतीकरण गरियो भने सही हुँदैन।’
‘देशको ठूलो सत्तारुढ पार्टीको सभापतिले आवश्यक परेको बेलामा आफ्नो सक्रियता देखाउनुभएको छ, प्रधानमन्त्रीका रूपमा वरिष्ठ नेताले पनि प्रयास गर्नुभएको छ। अहिले कसले कति गर्यो जोडघटाउ गर्ने बेला हो जस्तो मलाई लाग्दैन,’ महामन्त्री आचार्यले थपे।
नेपालखबरबाट साभार
