कृषि विकास बैंकका कर्मचारीको एक करोड ५३ लाख सहयोग

३१ भदौ, काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीहरूले आफ्नो तलब तथा भत्ताबाट एक करोड ५३ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्।

बैंकका उच्च तहका अधिकारीदेखि सहयोगी कर्मचारीसम्मले आफ्नो तलब तथा भत्ताबापत प्राप्त हुने रकमबाट सहयोग संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेका हुन्।

कर्मचारीहरूको तर्फबाट कुल रु. १,५३,९५,०२२ (एक करोड त्रिपन्न लाख पन्चानब्बे हजार बाइस रुपैयाँ) बराबरको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

अर्थमन्त्रीलाई चेक हस्तान्तरण

कर्मचारीहरूले संकलन गरेको उक्त रकम बराबरको चेक कृषि विकास बैंकका सञ्चालक समिति अध्यक्ष टंक प्रसाद पाण्डे र निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले नेपाल सरकारका अर्थमन्त्री माननीय स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरण कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशिल हुमागाईं, बजार तथा बिक्री विभागकी प्रमुख बीना शर्मा र जनशक्ति व्यवस्थापन विभागका प्रमुख अजय रिमालको पनि उपस्थिति रहेको थियो।

यसअघि तीन करोड योगदान

कृषि विकास बैंकले विपद् प्रभावितको राहत तथा उद्धारका लागि यसअघि पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ योगदान गरिसकेको छ।

त्यसैगरी, बैंकले बाढीपीडितका लागि १० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा राहत सामग्री प्रत्यक्ष रूपमा वितरण गरिसकेको जनाएको छ।

प्राकृतिक विपद्को कठिन समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको सहयोगसँगै कर्मचारीहरूको व्यक्तिगत तर्फबाट समेत आर्थिक सहयोग जुटाएर राहत तथा पुनःस्थापनाका कार्यमा योगदान गरिएको बैंकले जनाएको छ।