पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालनमा आएपनि सडक विभागले यसलाई दीर्घकालीन रूपमा सुरक्षित र सञ्चालनयोग्य बनाउने काम अघि बढाउने भएको छ।
सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलले अहिले सडक सञ्चालनमा ल्याउनु तत्कालीन समाधान मात्रै हो। कृष्णभीरको जोखिम स्थायीरूपमा न्यूनीकरण गर्न सडकको माथिल्लो भागमा पानी व्यवस्थापनदेखि तल्लो भागमा नदी कटान नियन्त्रणसम्मका काम गर्नुपर्ने अवस्था रहेको जानकारी दिए ।
कृष्णभीरको दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो स्लोपबाट पानीको व्यवस्थापन गर्ने, सम्भावित पहिरो नियन्त्रणका संरचना निर्माण गर्ने तथा नदीको कटानबाट सडकलाई जोगाउने उपायबारे अध्ययन सुरु भइसकेको उनले बताए। त्यसका लागि आवश्यक परीक्षण, डिजाइन र अन्तिम योजना तयार गर्न केही समय लाग्नेछ।
कृष्णभीरको दीर्घकालीन विकल्पका रूपमा सुरुङ निर्माण गर्ने वा त्रिशूली नदीपारि वैकल्पिक सडक बनाउने विषयमा समेत छलफल भइरहेको छ। तर वैकल्पिक संरचना निर्माण हुन समय लाग्ने भएकाले हाल सञ्चालनमा ल्याइएको सडकलाई कम्तीमा तीन वर्ष सुरक्षित रूपमा सञ्चालनयोग्य बनाउने गरी काम गर्नुपर्ने पौडेलले बताए।
माथिबाट वाटर म्यानेजमेन्ट कसरी गर्ने एउटा चुनौती छ भने भोलि जतिखेर पनि माथिको स्लोप फेलियर भएर पहिरो जान सक्ने सम्भावना छ। साना,साना पहिरो गएर एक, दुई घण्टासम्म सडक अवरुद्ध हुने सम्भावनालाई पनि कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा छलफल सुरु भइसकेको उनले जनाए ।
आगामी दिनमा सडकलाई सुरक्षित र दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक प्राविधिक अध्ययन र संरचना निर्माणलाई अघि बढाइने विभागको योजना छ।
पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीर सडकखण्ड दुईतर्फी सञ्चालनमा आएपनि माथिबाट पहिरो वा माटोका अवशेष खस्ने जोखिम कायमै रहेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
