काठमाडौं । भृकुटीमण्डपमा आज असोज १ गतेदेखि असोज ४ गतेसम्म सञ्चालन भइरहेको नवौं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ।
नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा भइरहेको उक्त प्रदर्शनीमा महालक्ष्मी विकास बैंकले घर तथा जग्गा खरिद र घर निर्माणका लागि आवश्यक पर्ने कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय गरिरहेको जनाएको छ।
ग्राहकको आवश्यकता र क्षमताअनुसार सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले बैंकले प्रदर्शनीमा सहभागिता जनाएको हो।
बैंकका अनुसार हाल विकास बैंकहरूमध्ये प्रतिस्पर्धी ब्याजदरमा घर तथा जग्गा खरिद र घर निर्माण कर्जा उपलब्ध गराउँदै आएको छ। प्रदर्शनीको अवसरमा बैंकले आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराउनुका साथै प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गर्ने जनाएको छ।
बैंकले भदौ महिनाका लागि आफ्नो आधार दर ५ दशमलव ६४ प्रतिशत रहेको जनाएको छ। उक्त आधार दरको प्रत्यक्ष लाभ घर तथा जग्गा खरिद वा घर निर्माणका लागि कर्जा लिने ग्राहकले लिन सक्ने बैंकको भनाइ छ।
महालक्ष्मी विकास बैंकमार्फत घर तथा जग्गा खरिद वा घर निर्माण कर्जा लिन इच्छुक ग्राहकले प्रदर्शनीमा रहेको स्टल नम्बर ए२१ मा सम्पर्क गर्न सक्नेछन्।
प्रदर्शनीमा बैंकका प्रतिनिधिहरूले ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया गरी कर्जा प्रक्रिया, आवश्यक सुविधा तथा विभिन्न बैंकिङ सेवाका विषयमा आवश्यक जानकारी र परामर्श प्रदान गरिरहेका छन्।
यस प्रदर्शनीमार्फत घर तथा जग्गा खरिद तथा निर्माणका लागि वित्तीय स्रोत खोजिरहेका ग्राहकलाई बैंकको कर्जा सुविधा, प्रक्रिया, ब्याजदर तथा अन्य बैंकिङ सेवाबारे प्रत्यक्ष जानकारी लिन सहज हुने बैंकले जनाएको छ।
