विकासशील अर्थतन्त्रमा इतिहासकै सर्वाधिक निजी पुँजी परिचालन-विश्व बैंक

  • Clock icon
    २०८३ आश्विन २, शुक्रबार

विश्व बैंक समूहले आर्थिक वर्ष सन् २०२६ मा इतिहासकै सर्वाधिक निजी पुँजी परिचालन गरेको छ। समूहले हालसम्मकै उच्च परिमाणमा ग्यारन्टी जारी गर्दै विकासशील अर्थतन्त्रमा आफ्नै वित्तीय स्रोत र विशेषज्ञतासँगै थप निजी पुँजी परिचालन गर्ने लक्ष्यमा उल्लेखनीय प्रगति हासिल गरेको हो।

विश्व बैंक समूहले परिचालन गरेको निजी पुँजी पछिल्लो चार वर्षमा तीन गुणाभन्दा बढीले वृद्धि भएको छ। आर्थिक वर्ष सन् २०२२ मा ३५ अर्ब अमेरिकी डलर रहेको निजी पुँजी परिचालन आर्थिक वर्ष सन् २०२६ मा बढेर १ खर्ब १२ अर्ब डलर पुगेको हो।

समूहको आफ्नै वित्तीय स्रोतसमेत जोड्दा आर्थिक वर्ष २०२६ मा विकासशील अर्थतन्त्रमा परिचालन तथा लगानी भएको कुल रकम २ खर्ब डलरभन्दा बढी भएको विश्व बैंक समूहले जनाएको छ।

निजी पुँजी परिचालनको वृद्धि विभिन्न आय समूहका देशमा देखिएको छ। निम्न मध्यम आय भएका देशमा निजी पुँजी परिचालन आर्थिक वर्ष सन् २०२२ को १४ अर्ब डलरबाट बढेर आर्थिक वर्ष २०२६ मा ३७ अर्ब डलर पुगेको छ। यो झण्डै तीन गुणाको वृद्धि हो।

त्यस्तै, उच्च मध्यम आय भएका देशमा निजी पुँजी परिचालन १२ अर्ब डलरबाट बढेर ५० अर्ब डलर पुगेको छ। यो चार गुणाभन्दा बढीको बढोत्तरी हो। निजी पुँजी परिचालनका दृष्टिले सबैभन्दा चुनौतीपूर्ण मानिने न्यून आय भएका देशमा भने पुँजी परिचालन करिब ३ अर्ब डलरको स्तरमा कायम रहेको विश्व बैंक समूहले जनाएको छ।

अफ्रिकी मुलुकमा पनि निजी पुँजी परिचालन उल्लेख्यरूपमा बढेको छ। आर्थिक वर्ष सन् २०२२ मा करिब ९ अर्ब डलर रहेको रकम सन् २०२६ मा बढेर २२ अर्ब डलर पुगेको छ। यो करिब १५० प्रतिशतको वृद्धि हो।

विश्व बैंक समूहका अनुसार पछिल्ला तीन वर्षमा निजी क्षेत्रसँग प्रभावकारी रूपमा काम गर्न संस्थाभित्र गरिएको सुधारले यस्तो परिणाम दिएको जनाएको छ। समूहले आफ्ना प्रक्रियालाई थप छिटो र सरल बनाउनुका साथै सार्वजनिक र निजी क्षेत्रसम्बन्धी कामलाई थप प्रभावकारी बनाउँदै लगानीकर्ताका लागि उपलब्ध वित्तीय उपकरण विस्तार गरेको जनाएको छ।

प्रत्येक देशमा विश्व बैंक समूहका सार्वजनिक तथा निजी क्षेत्रसम्बन्धी कामलाई एउटै संरचनामा जोड्दै एउटै सम्पर्क बिन्दुबाट सेवा दिन थालिएको छ। साथै, सम्बन्धित देशको आवश्यकता र विकास प्राथमिकताका आधारमा एकीकृत रणनीति निर्माण गर्न थालिएको जनाइएको छ।

विकासशील अर्थतन्त्रमा लगानी रोकिरहेका व्यावहारिक अवरोध पहिचान गर्न र ती अवरोध हटाउन कार्ययोजना बनाउन सहयोग गर्नाले निजी पुँजी परिचालनमा व्यावक सुधार आएको विश्व बैंक समूहले जनाएको छ।

समूहले लगानीका लागि व्यावसायिक तथा नियामकीय वातावरण सुधारसँगै स्थानीय मुद्रामा हुने वित्तीय सुविधा विस्तार, विदेशी विनिमयसम्बन्धी चुनौतीको समाधान, इक्विटीसम्बन्धी वित्तीय उपकरण विस्तार तथा संस्थागत लगानीकर्तालाई ठूलो परिमाणमा लगानीमा सहभागी गराउने नयाँ रणनीति अंगिकार गरेको छ।

सन् २०२६ मा विश्व बैंक समूहले २५ अर्ब डलरभन्दा बढीको ग्यारेन्टी जारी गरेको छ। सन् २०३० सम्म वार्षिक २० अर्ब डलरको ग्यारेन्टी जारी गर्ने लक्ष्य समूहले चार वर्षअघि नै पूरा गरेको हो।

२०२४ मा स्थापना गरिएको विश्व बैंक समूह ग्यारेन्टी प्लेटफर्मले यो उपलब्धी हासिल गर्न महत्वपूर्ण भूमिका रहेको छ। उक्त प्लेटफर्ममार्फत ग्राहक तथा लगानीकर्ताले विश्व बैंक समूहका विभिन्न संस्थाबाट उपलब्ध हुने ग्यारेन्टीमा सरल माध्यमबाट पहुँच पाउने व्यवस्था गरिएको छ।

विश्व बैंक समूहका अध्यक्ष अजय बंगाले तीन वर्षअघि सेयरधनी र ग्राहकले विश्व बैंक समूहको वित्तीय स्रोत उपयोग गर्दै थप निजी पुँजी परिचालन गर्न र निजी क्षेत्रसँग प्रभावकारी साझेदार बन्न स्पष्ट सन्देश दिएको बताएका छन्।

‘त्यसका लागि हामीले काम गर्ने तरिका परिवर्तन गर्‍यौं। छिटो, सरल र एउटै विश्व बैंक समूहकारूपमा। यसको परिणामस्वरूप यस वर्ष १ खर्ब १२ अर्ब डलर परिचालन भएको छ। यो त हामीले सुरु गरेको अवस्थाभन्दा तीन गुणाभन्दा बढी हो’, बंगाले भने।

उनका अनुसार परिचालन भएको रकमको परिमाणभन्दा पनि त्यो पुँजी कहाँ पुग्छ र त्यसले अवसर तथा रोजगारी सिर्जना गर्न कति योगदान गर्छ भन्ने महत्वपूर्ण हुने बताएका छन्।

विकासशील अर्थतन्त्रमा लगानीका अवरोध हटाउने, लगानीकर्ताको दायरा विस्तार गर्ने र रोजगारी तथा आर्थिक अवसर सिर्जना हुने क्षेत्रमा थप पुँजी परिचालन गराउन प्राथमिकता दिइने उनले बताए।

रोजगारी सिर्जना विश्व बैंक समूहको प्रमुख प्राथमिकतामध्ये एक भएको भन्दै विकासशील अर्थतन्त्रमा आगामी १० देखि १५ वर्षमा १ अर्ब २० करोड युवा काम गर्ने उमेरमा प्रवेश गर्ने अनुमान समूहको छ। तर सो अवधिमा करिब ४२ करोड मात्रै रोजगारी सिर्जना हुने प्रक्षेपण छ। यस्ता अर्थतन्त्रमा सिर्जना हुने प्रत्येक १० मध्ये ९ रोजगारी निजी क्षेत्रबाट सिर्जना हुने विश्व बैंक समूहले जनाएको छ।

सन् २०२६ मा विश्व बैंक समूहको आफ्नै स्रोत तथा परिचालित पुँजीसहितको कुल वित्तीय सहयोगको ५५ प्रतिशत रोजगारी सिर्जनामा बढी योगदान गर्ने क्षेत्रमा गएको बताइएको छ।

निजी लगानी पहुँच सहज भएका बजारमा मात्रै केन्द्रित नरहेको पनि विश्व बैंक समूहले स्पष्ट पारेको छ। कम आय भएका अर्थतन्त्रमा समेत निजी लगानी पुगिरहेको भन्दै समूहले क्षेत्रीय तथा स्थानीय लगानीकर्ताले विश्वव्यापी पुँजीसँग सहकार्य गर्दै व्यवसायमा लगानी र रोजगारी सिर्जनामा योगदान गर्ने जनाएको छ।

अब विश्व बैंक समूहले लगानीमा सहभागी हुन सक्ने लगानीकर्ताको दायरा थप विस्तार गर्ने तयारी गरेको छ। समूहको ‘ओरिजिनेट–टु–डिस्ट्रिब्युट’ ९ओटूडी० कार्यक्रममार्फत लगानीलाई प्याकेजिङ तथा वितरण गरी संस्थागत लगानीकर्तालाई ठूलो परिमाणमा सहभागी गराउने उपाय विकास गरिरहेको छ।

यसको उद्देश्य विश्वभर रहेको पुँजीलाई विकासशील अर्थतन्त्रमा उपलब्ध लगानीका अवसरसँग जोड्नु रहेको समूहले जनाएको छ।