नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

  • Clock icon
    २०८३ आश्विन २, शुक्रबार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनै श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

श्रेष्ठले १३ मे २०२६ देखि प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।  सन् १९९७ नोभेम्बरमा प्राधिकरणको सेवामा प्रवेश गरेका श्रेष्ठसँग विद्युत क्षेत्रमा २८ वर्षभन्दा बढीको कार्यअनुभव छ । कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुअघि उनी प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक थिए ।

श्रेष्ठले यसअघि प्राधिकरणको प्रसारण निर्देशनालयको उपकार्यकारी निर्देशकका रूपमा पनि काम गरेका थिए । उनले डिसेम्बर २०२० देखि अप्रिल २०२६ सम्म प्रसारण निर्देशनालयको नेतृत्व गरेका थिए ।

त्यसअघि उनले प्राधिकरणको ग्रिड सञ्चालन विभाग, काठमाडौं क्षेत्रीय कार्यालय, हेटौंडा क्षेत्रीय कार्यालय र अत्तरिया क्षेत्रीय कार्यालयको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका थिए । त्यस्तै, उनले कालीगण्डकी जलविद्युत् आयोजना र हेटौंडा ग्रिड डिभिजनको प्रमुखका रूपमा पनि काम गरेका छन् ।

श्रेष्ठले प्राधिकरणका विभिन्न वितरण केन्द्रमा सहायक प्रबन्धक तथा काठमाडौं पूर्व वितरण केन्द्रमा सहायक प्रबन्धकको जिम्मेवारीसमेत सम्हालेका थिए । करियरको सुरुवाती चरणमा उनले लोड डिस्प्याच सेन्टरमा इन्जिनियर (सिस्टम अपरेटर) का रूपमा काम गरेका थिए ।

श्रेष्ठले भारतको अलिगढ मुस्लिम विश्वविद्यालयबाट सन् १९९६ मा इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका हुन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुल्चोक क्याम्पसबाट सन् २००५ मा सूचना तथा सञ्चार इन्जिनियरिङमा मास्टर्स गरेका छन् ।

उनको कार्यअनुभवमा विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीको सञ्चालन तथा व्यवस्थापन, राष्ट्रिय विद्युत् पूर्वाधार विकास, ऊर्जा नीति, सीमा(पार विद्युत् व्यापार, परियोजना विकास तथा कार्यान्वयन र संस्थागत व्यवस्थापनलगायतका क्षेत्र समेटिएका छन् ।

  • Clock icon
    २०८३ आश्विन २, शुक्रबार