माथिल्लो त्रिशूली १ को सुरुङभित्र थप ५ वटा शव भेटिएको छ। योसँगै एउटै सुरुङमा भेटिएको शवको संख्या १८ वटा पुगेको छ।
शुक्रबार दिउँसो १३ वटा र साँझ ५ वटा शव भेटिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।
नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले टनेलमा निरन्तर खोजी कार्य गर्ने क्रममा अडिट ३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा १८ वटा शव फेला परेको हो।
साँझ भेटिएका ५ वटा शव भने टनेल बाहिर निकाल्न बाँकी छ।
आयोजनाको ९.८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोलास्थित अडिट–३ को करिब १०० मिटरभित्रको सुरूङमा ती शव फेला परेका हुन्।
बाढी आउँदा आयोजनाको सुरुङभित्र कति जना मजदुर प्रवेश गरेका थिए भन्ने अझै यकिन भएको छैन।
बाढीपछि यो आयोजनामा कार्यरत ४९२ जना सम्पर्कविहीन छन्। यहाँ एक हजार ४३३ जना कार्यरत थिए। कोरियाली लगानीमा यो जलविद्युत् परियोजना निर्माण भइरहेको थियो।
यस्तै त्रिशूली ३ ‘ए’ र ३ ‘बी’को टनेल र पावर हाउसमा पनि खोजि कार्य भइरहेको छ।
रासस