काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले आगामी दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ।
ग्राहकलाई आवासीय घर तथा सम्पत्ति खरिद र निर्माण गर्न सहज बनाउने उद्देश्यले बैंकले आकर्षक ब्याजदर तथा लचिलो कर्जा सुविधासहितको विशेष योजना ल्याएको हो।
योजनाअन्तर्गत ग्राहकले बैंकको आधार दरमा थप शून्य दशमलव २५ प्रतिशत प्रिमियम जोडेर घर कर्जा लिन सक्नेछन्।
बैंकले विशेष योजनामार्फत सम्पत्तिको मूल्यांकनका आधारमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। ग्राहकले कुल घरजग्गा मूल्यांकनको अधिकतम ७० प्रतिशतसम्म कर्जा पाउन सक्नेछन्। पहिलोपटक घर खरिद गर्ने ग्राहकका लागि भने मूल्यांकनको अधिकतम ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुने बैंकले जनाएको छ।
मुक्तिनाथ विकास बैंकको यो विशेष घर कर्जा योजना २०८३ सालको कात्तिक मसान्तसम्म लागू हुनेछ। उक्त अवधिपछि बैंकले आफ्नो नियमित व्यावसायिक ब्याजदर तथा प्रचलित अन्य सर्तहरू लागू गर्नेछ।
विशेष घर कर्जा योजना देशभर रहेका मुक्तिनाथ विकास बैंकका सबै १७६ वटा शाखाबाट उपलब्ध हुने बताइएको छ। यससँगै विभिन्न स्थानका ग्राहकले आफ्नो नजिकैको शाखाबाट योजनासम्बन्धी जानकारी तथा कर्जा सुविधा लिन सक्नेछन्।
घर कर्जासँगै बैंकले सवारी कर्जा तथा कृषि र साना तथा मझौला उद्यम कर्जाका लागि पनि छुट्टाछुट्टै विशेष योजना सञ्चालनमा ल्याएको छ।
विशेष कर्जा सुविधा लिन इच्छुक ग्राहकलाई बैंकले आफूलाई पायक पर्ने नजिकको शाखामा सम्पर्क गरी आवश्यक जानकारी, व्यक्तिगत परामर्श तथा कर्जा आवेदन प्रक्रियाबारे जानकारी लिन आग्रह गरेको छ।
