सिटिजन्स बैंकको कर्णालीमा रणनीतिक छलफल

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशमा प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरूको सहभागितामा रणनीतिक वृद्धि तथा कार्यसम्पादन समीक्षा सम्बन्धी सेमिनार आयोजना गरेको छ।

“दूरी घटाउँदै, नतिजा दिँदै : कार्यसम्पादन तथा रणनीतिक वृद्धि समीक्षा–कर्णाली प्रदेश २०८३/८४” विषयमा आयोजित उक्त सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न भएको हो।

कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ को बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताका विषयमा छलफल गरिएको थियो। साथै बैंकको केन्द्रीय कार्यालय र प्रदेशस्तरीय संरचनाबीच सहकार्य तथा समन्वयलाई थप सुदृढ बनाउने विषयमा गहन अन्तरक्रिया गरिएको बैंकले जनाएको छ।

सिटिजन्स बैंकले हाल कर्णाली प्रदेशका आठवटै जिल्लामा ११ वटा शाखा कार्यालय सञ्चालन गर्दै आएको छ।

बैंकका अनुसार कर्णाली प्रदेशमा आयोजना गरिएको उक्त सेमिनार प्रदेशस्तरीय रणनीतिक समीक्षा कार्यक्रमकै निरन्तरता हो। यसअघि बैंकले बागमती प्रदेशमा “अग्रमोर्चाबाट नेतृत्व : बागमती प्रदेशका लागि रणनीतिक वृद्धि प्राथमिकता”, कोशी प्रदेशमा “व्यावसायिक गति तीव्र बनाउँदै : कोशी प्रदेशमा व्यवसाय विस्तार तथा सम्पत्तिको गुणस्तर अभिवृद्धि”, मधेश प्रदेशमा “उच्च परिमाणको वृद्धि, गुणस्तरीय कर्जा तथा बजार नेतृत्वतर्फ अग्रसरता २०८३/८४” र सुदूरपश्चिम प्रदेशमा “अप्रयोगित सम्भावनामा केन्द्रित हुँदै, एकीकृत कार्य : बजेट उपलब्धि तथा रणनीतिक वृद्धि समीक्षा–सुदूरपश्चिम प्रदेश २०८३/८४” विषयमा सेमिनार सम्पन्न गरिसकेको छ।

सोही कार्यक्रमको निरन्तरताका रूपमा कर्णाली प्रदेशमा पनि सेमिनार आयोजना गरिएको बैंकले जनाएको छ। अन्य प्रदेशमा समेत क्रमशः यस्तै कार्यक्रम आयोजना गरिने बैंकले बताएको छ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकको कर्जा प्रवाह १ दशमलव २४ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। सो अवधिमा बैंकको निक्षेप संकलनसमेत ९ दशमलव २२ प्रतिशतले वृद्धि भई २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, बैंकको खुद नाफा ६३ दशमलव ०५ प्रतिशतले वृद्धि भई २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

सिटिजन्स बैंकले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर’ अवार्ड २०२४ र २०२५ को उपाधिसमेत प्राप्त गर्न सफल भएको जनाएको छ। बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो।

हालसालै बैंकले नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी बचत खाता’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ।

त्यसैगरी, स्वतन्त्र रूपमा पेसा तथा व्यवसाय गर्ने व्यक्तिलाई लक्षित गर्दै बैंकले ‘फ्रिलान्सर बचत खाता’ नामक नयाँ बचत खाता पनि सञ्चालनमा ल्याएको छ। बैंकले नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन दिन तथा सीआरएन नम्बर प्राप्त गर्न सकिने सुविधा पनि सञ्चालनमा ल्याएको जनाएको छ।

यसका साथै बैंकले अन्तरबैंक टेलर सुविधा पनि उपलब्ध गराएको छ। उक्त सुविधामार्फत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकको शाखामा रहेको टेलरको क्यूआर संकेत स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल देशभर ६१ जिल्लामा फैलिएका २०० वटा शाखा, १६७ वटा एटीएम, तीनवटा विस्तारित काउन्टर तथा ४२ वटा शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।