सिद्धार्थ बैंकले २० प्रतिशत लाभांश प्रस्ताव गर्‍यो

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य नाफा तथा पूँजी समायोजन कोषबाट साधारण तथा अग्राधिकार सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको असोज १ गते बसेको सञ्चालक समितिको ४८२औँ बैठकले लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको हो।

बैंकले हाल कायम चुक्ता पुँजीका आधारमा साधारण सेयरधनीलाई कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसअनुसार १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।

बैंकको हाल कायम १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँ चुक्ता पुँजीको १० प्रतिशत बराबर १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको बोनस सेयर प्रस्ताव गरिएको छ।

त्यस्तै, १० प्रतिशत नगद लाभांशका लागि पनि १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ छुट्याइएको छ। उक्त नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश

बैंकले ३ अर्ब ५० करोड रुपैयाँबराबरको अग्राधिकार सेयर पुँजीमा ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। यसअनुसार अग्राधिकार सेयरधनीलाई १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँबराबरको नगद लाभांश वितरण गरिनेछ।

अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँट भएको मितिदेखि २०८३ सालको असार मसान्तसम्मको अवधिलाई अनुपातिक आधारमा गणना गरी वितरण गर्ने प्रस्ताव गरिएको छ। यस लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।

राष्ट्र बैंकको स्वीकृति र साधारण सभाबाट अनुमोदन आवश्यक

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै वितरण हुनेछ।

नाफा ३ अर्ब ४७ करोड

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ११ करोड रुपैयाँ अर्थात् ३.३२ प्रतिशतले बढी हो।

बैंकले चुनौतीपूर्ण बजार परिस्थितिका बाबजुद निष्क्रिय कर्जा अनुपात ३.५२ प्रतिशतमा कायम राखेको जनाएको छ।

२०८३ साल असार मसान्तसम्म बैंकको चुक्ता साधारण सेयर पुँजी १४ अर्ब ७९ करोड रुपैयाँ तथा अग्राधिकार सेयर पुँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ। बैंकको जगेडा तथा कोषमा १८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ।

खुद सम्पत्ति मूल्य २२४.८९ रुपैयाँ

बैंकको कुल खुद सम्पत्ति ३६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा खुद सम्पत्तिमा ५ अर्ब ९१ करोड रुपैयाँ वृद्धि भएको बैंकले जनाएको छ।

यससँगै बैंकको प्रतिसेयर खुद सम्पत्ति मूल्य २२४ रुपैयाँ ८९ पैसा पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो मूल्य २१९ रुपैयाँ ७७ पैसा थियो। प्रतिशेयर खुद सम्पत्ति मूल्य २.३३ प्रतिशतले बढेको हो।

बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ७८ पैसा रहेको छ। अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी २२ रुपैयाँ ७६ पैसा थियो।