तीन एकादशीमध्ये हरिपरिवर्तिनीको महत्व

आज मंगलबार हरिपरिवर्तिनी एकादशी मनाइँदैछ । भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर्दा कोल्टे फेर्ने धार्मिक विश्वास रहन्छ ।

विश्वकर्मा बाबा तत्कालीन समयका महान् इन्जिनियर थिए

यस दिन निष्ठापूर्वक व्रत बस्नाले सम्पूर्ण पाप नाश भइ फल प्राप्त हुने शास्त्रीय मान्यता छ । एकादशीको दिन बिहानै स्नान गरी भगवान विष्णु (हृषिकेश)को पूजा, आराधना र फलाहार वा निराहार व्रत बस्ने गरिन्छ ।

आषाढ शुक्ल एकादशीका दिन भगवान नारायण शयनमा जान्छन् भने भाद्र शुक्ल एकादशीका दिन कोल्टे फेर्ने भएकाले यसलाई हरिपरिवर्तिनी वा हरिकोल्टे एकादशी भनिन्छ । भगवान विष्णु शयनमा रहने चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ ।

यस अवधिका तीन प्रमुख एकादशीमध्ये आषाढ शुक्ल एकादशीलाई हरिशयनी, भाद्र शुक्ल एकादशीलाई हरिपरिवर्तिनी र कात्तिक शुक्ल एकादशीलाई हरिबोधिनी एकादशीका रूपमा मनाइने गरिन्छ । त्यसैले चतुर्मासको बिचमा पर्ने हरिपरिवर्तिनी एकादशीको धार्मिक महत्त्व विशेष रहेको छ।

‘चौमासाका पनि मुख्य तीनटा एकादशी पर्छन । एउटा हरिशयनी, अर्को, हरिपरिवर्तिनी र हरिबोधिनी हो । त्यसमध्यको बिचमा पर्ने हरिपरिवर्तिनी हो । त्यसैको भोलिपल्ट वामन द्वादशी पर्वको शृङ्खलामा आएको हुनाले पनि यसको महत्त्व धेरै मानिन्छ ।’

हरिपरिवर्तिनी एकादशीको भोलिपल्ट वामन द्वादशी पर्ने भएकाले पनि पर्वहरूको शृङ्खलामा यसको विशेष स्थान रहेको छ ।

एकादशीको व्रतलाई केवल खाना नखाने विषयका रूपमा बुझ्न नहुने बताउँदै यसलाई नियम, अनुशासन र आत्मसंयमसँग जोड्नुपर्ने देखिन्छ । मानिसका पाँच कर्मेद्रीय, पाँच ज्ञानेन्द्रीय र मन गरी ११ वटा इन्द्रियलाई नियन्त्रणमा राख्ने अभ्यासका रूपमा एकादशीको व्रतलाई लिन सकिन्छ ।

नियमित रूपमा गरिने उपवासले पाचन प्रणालीलाई आराम दिने तथा शरीरलाई केही समय खानपानको नियमित चक्रबाट विश्राम दिने अभ्यासका रूपमा लिन सकिने अवस्था छ । पछिल्लो समय पश्चिमी समाजमा समेत ‘फास्टिङ’को अभ्यास बढिरहेको देखिन्छ ।

स्वास्थ्य अवस्था, उमेर र शारीरिक क्षमताअनुसार मात्रै व्रत बस्नुपर्ने हुन्छ । निराहार बस्न नसक्नेले आफ्नो क्षमताअनुसार फलाहार वा सात्त्विक तथा शुद्ध भोजन गरेर पनि एकादशीको धार्मिक भावना पालना गर्न सकिने छ।

एकादशीको अर्को महत्वपूर्ण पक्ष भगवानको चिन्तन र सकारात्मक सोचको विकास भएको हो । व्रतका क्रममा शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि शुद्ध रहन आवश्यक छ । कसैको अहित नचिताउने, सकारात्मक सोच राख्ने र ‘सर्वे भवन्तु सुखिनः’ भन्ने भावनाको विकास गर्नुपर्ने हुन्छ ।

एकादशीका दिन स्नान गरी शरीर र मन दुवैलाई शुद्ध राख्नुपर्ने बताउँदै आफूले सक्नेअनुसार भगवानको पूजा तथा आराधना गर्नुपर्छ । मन्दिर जान नसक्नेले घरमै बसेर भगवानको स्मरण तथा पूजा गर्न सक्ने छन् ।

पूजाका क्रममा धूप, दीप, अक्षता, चन्दन, फूललगायत सामग्री आफ्नो क्षमताअनुसार प्रयोग गर्न सकिने छ । आर्थिक रूपमा सक्षम व्यक्तिले वस्त्र वा अन्य सामग्रीसमेत अर्पण गर्न सक्ने भए पनि भगवानलाई भौतिक वस्तुभन्दा श्रद्धा, भक्ति र प्रेम महत्वपूर्ण हुने अवस्था हो ।

एकादशी प्रत्येक १५ दिनमा आउने भएकाले यसलाई नियमित आत्मसंयम र अनुशासनको अभ्यासका रूपमा लिन सकिन्छ । एकादशीको व्रतलाई नेपाली सनातनी परम्परामा अत्यन्त महत्वपूर्ण व्रतका रूपमा स्थापित गरिएको समेत हो ।

यसरी हरिपरिवर्तिनी एकादशी धार्मिक आस्था र भगवान विष्णुको शयनसँग मात्र नभई आत्मसंयम, अनुशासन, शारीरिक विश्राम, मानसिक शुद्धता र सकारात्मक सोचको अभ्याससँग समेत जोडिएको हो ।