काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट उक्त रकम खिच्न लागेको हो ।
राष्ट्र बैंकले ब्याजदरमा बोलकबोलमार्फत निक्षेप संकलन गर्ने जनाएको छ । यसका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै बोलकबोलमा सहभागी हुन पाउनेछन् ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्नुपर्नेछ ।
निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको २० अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन् । बोलकबोल गरिएको रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यसपटकको निक्षेप संकलन उपकरणको अवधि ३२ दिनको हुनेछ । संकलन गरिएको साँवा तथा ब्याज आगामी कात्तिक ९ गते भुक्तानी गरिनेछ ।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको मात्रा बढ्दै गएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यसमार्फत बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता केही समयका लागि केन्द्रीय बैंकतर्फ तानेर प्रणालीगत तरलता व्यवस्थापन गर्ने गरिन्छ ।
