काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालमा बुल निर्माण उपकरणको आधिकारिक वितरक अटोज प्रालिबीच बुल मेसिनरी खरिद गर्ने ग्राहकलाई सहज कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ।
निर्माण व्यवसायलाई वित्तीय पहुँच सहज बनाउँदै उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्यले दुई संस्थाबीच उक्त समझदारी भएको हो। साझेदारीले बुल निर्माण उपकरण खरिद गर्न चाहने ग्राहकलाई उपकरण वित्तीयकरणमा सहज पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ।
समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख बाबुराम ढकाल र अटोज प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले आ–आफ्नो संस्थाको तर्फबाट हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार मुक्तिनाथ विकास बैंकले खरिद गरिने बुल मेसिनरीलाई प्राथमिक धितोका रूपमा राखी डिलर इनभ्वाइस मूल्यको ५० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउनेछ।
त्यसैगरी, ग्राहकले बैंकले स्वीकार गर्ने थप स्थिर सम्पत्ति धितो उपलब्ध गराएमा डिलर इनभ्वाइस मूल्यको ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। यस्तो कर्जा बैंकको मूल्यांकन तथा प्रचलित कर्जा नीतिअनुसार उपलब्ध हुनेछ।
समझदारीअन्तर्गत योग्य कर्जाग्राहीले प्रतिस्पर्धी तथा न्यूनतम ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ।
यस सहकार्यले निर्माण व्यवसायी तथा ठेकेदारलाई आवश्यक निर्माण उपकरण खरिदका लागि वित्तीय स्रोतमा पहुँच सहज बनाउनुका साथै मुक्तिनाथ विकास बैंकको आवास, सवारी, कृषि तथा लघु, साना तथा मझौला व्यवसाय कर्जा लगायतका उत्पादनशील कर्जा क्षेत्रमा रहेको लगानी विस्तार गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
