प्रधानमन्त्री बालेन काठमाडौं अवतरण

प्रधानमन्त्री वालेन्द्र शाह-बालेन अमेरिकाबाट स्वदेश फर्किएका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी प्रधानमन्त्री शाह आज शनिबार स्वदेश फर्किएका हुन्। केहीबेर अघि मात्रै शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिका प्रस्थान गरेका थिए। उनले असोज ८ गते महासभालाई सम्बोधन गरेका थिए।

महासभामा उनले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे धारणा राखेका थिए । 

महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणका रूपमा प्रस्तुत गरेका थिए ।

उनले हिमाली क्षेत्रमा बढ्दो जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायु संकट सिर्जना गर्न कम योगदान गरेका नेपालजस्ता देशले त्यसको ठूलो मूल्य चुकाइरहेको बताएका थिए ।

साथै, ‘जलवायु परिवर्तनले सीमा चिन्दैन’ भन्दै हिमनदी पग्लिने, पहिरो र बाढीजस्ता जोखिम नेपालसँगै चीन र भारतसम्म फैलिएको उनले बताएका थिए ।

प्रधानमन्त्री शाहले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्रै सीमित गर्न नहुने धारणा राखेका थिए ।

उनले हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश र भावी पुस्ताको आवाजलाई पनि अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्त्व दिनुपर्ने बताएका थिए ।