नारायणी नदीको कटान र डुबानको जोखिममा पश्चिम चितवन-तस्बिरहरु

नारायणी नदीको जलसतह बढेसँगै पश्चिम चितवनका नदी तटीय क्षेत्रमा कटान र डुबानको जोखिम बढेको छ । भरतपुर महानगरपालिका–१६ मझुवामा नदीले करिब एक सय मिटर क्षेत्र कटान गरेपछि बस्ती जोगाउन आज शनिबार पनि रोकथामको काम भइरहेको छ ।

लगातारको वर्षाका कारण नदीको बहाव बढेपछि मझुवामा गत भदौमा कटान भएको क्षेत्र आसपासबाटै पुनः कटान सुरु भएको हो । नदी बस्ती नजिक पुग्न थालेपछि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, चितवनले नदी नियन्त्रणका लागि तत्कालीन रूपमा रोकथामको काम अघि बढाएको छ ।

आयोजना कार्यालयका प्रमुख डा. नारायणप्रसाद सुवेदीका अनुसार भारी वर्षाको पूर्वसूचना पाएलगत्तै कार्यालयले आवश्यक तयारी गरेको थियो ।

बिहीबारदेखि नै नदी नियन्त्रणका लागि काम थालिए पनि पानीको बहाव बढेपछि कटान रोक्न चुनौती देखिएको छ ।

नारायणी नदी किनारका अन्य आधा दर्जन स्थानमा समेत कटान भइरहेको छ ।

गत भदौ १० गते आएको बाढीका क्रममा मझुवा क्षेत्रमा नदीले करिब तीन सय मिटर भूभाग कटान गरेको थियो । त्यसबेला नदी करिब २५ देखि ३० मिटर बस्तीतर्फ पसेर कटान गरेपछि ठुला ढुङ्गा राखेर नदीको धार नियन्त्रण गर्ने काम गरिएको थियो । सोही क्षेत्र आसपासमा अहिले पुनः कटान सुरु भएको हो ।

यसैबिच, देवघाटस्थित जलमापन केन्द्रमा नारायणी नदीको जलसतह खतरा तह नजिक पुगेको छ । बाढी पूर्वानुमान महाशाखाले शनिबार दिउँसो जलसतह खतरा तह आसपास पुगेको र अझै बढ्दो क्रममा रहेको जनाएको छ ।

तल्लो तटीय क्षेत्र तथा विगतमा डुबान हुने स्थानका बासिन्दालाई भोली आइतबार बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।