नेपाल आरोग्य पर्यटनको हब

जीवन विज्ञान अभियानका संस्थापक एलपी भानु शर्माको शब्द सापटी लिने हो भने आरोग्य बहुआयामिक विषय भएकाले यसका आयामहरू शारीरिक, मानसिक, वातावरणीय, सामाजिक, भावनात्मक र आध्यात्मिक हुन्छन् ।

प्रत्येक मानिस आरोगी वा स्वस्थ हुन चाहन्छ । वास्तविक आरोग्य प्राप्त गर्न शरीर मात्र स्वस्थ भएर हुँदैन, व्यक्तिको मन, मस्तिष्क, शरीर, वचन र कर्म नै स्वस्थ हुनुपर्दछ, उसको भावना र चेतना स्वस्थ हुनुपर्दछ भन्नेमा शर्माको स्पष्ट दृष्टिकोण छ ।

वास्तवमा आरोग्य(वेलनेस) वहुआयामिक क्षेत्र भएकाले यो पर्यटको ब्राण्ड बन्नसक्ने आधारहरु अध्यात्म क्षेत्रका व्यक्तिहरुले दशक अघिदेखि उठाउँदै आएको विषय हो ।

नेपालको पर्यटनमा प्राकृतिक, भौगोलिक र जैविक विविधतादेखि सामाजिक रहनसहन संस्कृति, साहसिक पर्यटन जस्ता विविध क्षेत्रलाई आरोग्यसँग जोडेर प्रवद्र्धन गर्न सकिने आवाज पनि उठिरहेको छ ।

वास्तवमा पर्यटन विकासका लागि कुनै एउटा ‘ब्राण्ड’ हुनु जरुरी भएपनि नेपालको प्राकृतिक सौन्दर्य र सामाजिक–सांस्कृतिक सम्पदालाई नै पर्यटनको मूल स्रोतका रूपमा प्रचारप्रसार हुँदै आइरहेको छ । यसभित्र अब आरोग्यलाई पर्यटनको ब्राण्ड बनाउन सकिने असीम आधारहरु खडा हुँदै आएको छ ।

विश्वमा आरोग्य अर्थतन्त्रको ग्राफ बढ्दै गइरहेको र ग्लोबल वेलनेस इन्स्टिच्युटका अनुसार विश्वका १४३ देशमध्ये नेपाल आरोग्य अर्थतन्त्रको सूचकांकको उच्च स्थानमा रहेको देखाइएको पनि छ ।

यि विविध सन्दर्भहरुलाई माध्यम बनाएर नेपाल सरकारले यसलाई प्राथमिकता दिदैँ नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा उभ्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ ।

मन र आत्मालाई शान्ति दिने ‘आरोग्य’को खोजीमा रहेका पर्यटकलाई नेपालमै भूल्याउने उद्देश्यले बालेन्द्र शाह नेतृत्वको सरकारले मुलुकलाई ‘आरोग्य पर्यटन’ को गन्तव्यका रुपमा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने योजना समेत बनाएको छ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया भन्छन्,‘आरोग्य केवल सेवा होइन, हाम्रो जीवनशैली हो । नेपालको माटो, संस्कृति, ऐतिहासिकता र यहाँको सदियौँ पुरानो जीवनशैलीको समग्र रूप हो । त्यसैले आरोग्य पर्यटनलाई केवल स्पा, सेलुन वा केही दिनको योग शिविरमा मात्र सीमित बनाउन हुँदैन । यसको ब्रान्डिङ गर्न सोही अनुसारको अवधारणा तयार गर्नुपर्छ ।’

राष्ट्रिय रणनीति र योजना

नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘राष्ट्रिय आरोग्य पर्यटन रणनीति सन्–२०२६–०३५ साथै कार्ययोजना २०२६–०३०’ नै तयार गरेर काम समेत सुरु गरिसकेको छ ।

सन् २०३० पछि वार्षिक १० हजारभन्दा बढी आरोग्य पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले पहिलोपटक १० वर्षे रणनीति तयार पारेको मात्र छैन उनीहरूबाट वार्षिक २ देखि ३ करोड अमेरिकी डलर आम्दानी गर्ने लक्ष्य समेत लिएको छ ।

कार्ययोजनामा पाँच वर्षभित्र नेपालको आरोग्य पर्यटन क्षेत्रमा गरिने काम, आउने पर्यटक र उनीहरूबाट हुने आम्दानीको लक्ष्य राखिएको छ । ‘आरोग्य पर्यटन गन्तव्य नेपाल, आर्थिक समृद्धिको आधार’ दूरदृष्टि राखेर रणनीति तयार पारिएको छ ।

सरकारले सन् २०२७ लाई ‘नेपाल आरोग्य वर्ष, २०२७’ मनाउने घोषणा नै गरिसकेको छ । आरोग्य पर्यटकको संख्या बढाउने र त्यसका लागि पूर्वाधारहरू तयार गर्न पाँच स्थान पहिचान नै गरेको छ । त्यस्तै सन् २०३० सम्ममा आरोग्य उन्मुख पर्यटकको संख्या ११ प्रतिशतसम्म वृद्धि गर्ने लक्ष्य छ ।

कम्तीमा पाँच ओटा प्रमुख क्षेत्रमा एकीकृत आयोग्य केन्द्र स्थापना गर्ने भनिएको छ । आरोग्य क्षेत्रका पर्यटकको सन्तुष्टि स्तर १० मा ८ दशमलव ५ प्रतिशतभन्दा माथि पुर्याउने, सन् २०३० सम्ममा राष्ट्रिय मान्यताप्राप्त कार्यक्रममार्फत दुई हजार नयाँ आरोग्य जनशक्तिलाई तालिम तथा प्रमाणपत्र दिने र आरोग्य पर्यटन क्षेत्रको नयाँ रोजगारी कम्तीमा ३० प्रतिशत महिला, युवा र स्थानीय समुदायका व्यक्तिहरूलाई उपलब्ध गराउने कार्ययोजनाको लक्ष्य छ ।

आरोग्य पर्यटनको बजार परिपक्वता र नेतृत्व भने सन् २०३० पछिको चरणमा हुने सरकारको अनुमान छ । यस चरणमा सबै विधा र विविध प्रकारका पाहुना समेटिने गरी २५ भन्दा बढी विशिष्ट आरोग्य कार्यक्रम सञ्चालन गरिनेछ । आरोग्य पदयात्रा, हिमाली आयुर्वेद र भिक्षु ध्यान अभ्यासलाई मुख्य आधार बनाएर नेपाललाई विश्वकै अग्रणी गन्तव्यका रूपमा स्थापित गराउने भनिएको छ ।

सरकारले आरोग्य पर्यटन लक्षित सेवासुविधाको विस्तार सन् २०२९ सम्ममा गरिने र यस अवधिमा ४० भन्दा बढी प्रामाणिक अपरेटरसहित प्रमुख पर्यटकीय केन्द्रमा १० भन्दा बढी मौलिक सेवासुविधा विस्तार गर्ने लक्ष्य सरकारको छ ।

साथै पाइलट परियोजनामार्फत नेपाललाई प्रमुख आरोग्य यात्रा गन्तव्यका रूपमा स्थापित गर्न निजीक्षेत्रसँग साझेदारीमा हुने अनुमान छ । सन् २०२७ को अन्त्यसम्ममा पोखरा वा काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको रिट्रिट स्थापना गर्न निजीक्षेत्रसँग साझेदारी गरिनेछ । प्रमुख हिमाली क्षेत्रमा आरोग्य रिट्रिट केन्द्र स्थापना गरिने र त्यस केन्द्रले स्पा, योग, ध्यान र समय उपचारको पूर्ण प्याकेज प्रदान गर्ने, लुम्बिनीमा आरोग्य ग्राम स्थापना गरिने साथै बुटिक हिल स्टेशन आरोग्य ग्राम स्थापना गर्ने सरकारको योजना छ ।

सरकारले आरोग्य पर्यटन स्रोत बजार पनि पहिचान गरेको छ । उक्त रणनीतिले मुलुकको आरोग्य पर्यटनका लागि पर्यटक समूह पनि पहिचान गरेको छ । त्यसअन्तर्गत अन्तर्राष्ट्रिय योग अभ्यासकर्ता, आध्यात्मिक साधक तथा अभ्यासी, स्वास्थ्य तथा आरोग्य पर्यटक, साहसी तथा आरोग्यको मिश्रण रुचाउने पर्यटक, स्पा तथा मनोरञ्जन आरोग्य पर्यटक, कर्पोरेट आरोग्य समूह र पारिवारिक आरोग्य पर्यटक समूह पर्छन् । तर नेपाल पर्यटन बोर्डले हाल नेपाल आउने कुल विदेशी पर्यटकमा दुई प्रतिशतजति मात्रै आरोग्य पर्यटक रहने अनुमान गरेको छ ।

बदलिंदो परिभाषा

हालसम्म पर्यटनको मुख्य उद्देश्य मनोरञ्जन र घुमफिर थियो । पर्यटनको परिभाषाभित्र मनोरञ्जन र घुमफिर मात्र समेटिन्थ्यो । तर आरोग्य पर्यटनबारे वहस र रणनीतिक योजनाहरुको काम सुरु भएपछि यसको परिभाषा बदलिंदो क्रममा छ ।

अहिले पर्यटकहरू स्वास्थ्य, मानसिक शान्ति, आत्मिक ऊर्जा र जीवनशैली सुधारका लागि यात्रा गर्ने र योग, ध्यान, आयुर्वेद, प्राकृतिक उपचार, आध्यात्मिक साधना र प्रकृतिसँग सामीप्यताका लागि यात्रा गर्ने गरेका छन् ।

योग र ध्यानका लागि आवश्यक शान्त वातावरण, स्वच्छ हावा, प्राकृतिक ऊर्जा र आध्यात्मिक अनुभूति नेपालका धेरै क्षेत्रमा सहजै प्राप्त गर्न सकिने भएकाले अब पर्यटनको परिभाषा बदल्नुपर्ने आवाज उठेको छ । योगाचार्य राजन शर्माका अनुसार नेपाललाई योग र ध्यान केन्द्रित आरोग्य पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ । ‘अध्यात्म हाम्रो भूमिको पहिचान हो । योग, ध्यान, अर्गानिक जीवनशैली र नेपाली संस्कारलाई पर्यटनसँग जोडेर संसारलाई नेपाल फरक र विशिष्ट गन्तव्य हो भन्ने सन्देश दिन सकिन्छ,’ उनको भनाइ छ ।

संभावित गन्तब्य

सरकारले आरोग्य पर्यटनलाई प्राथमिकता दिएपछि नेपाल पर्यटन बोर्डले प्रवद्र्धनका कार्यक्रमहरु र संभावित गन्तब्यहरुका बारेमा अध्ययन सुरु गरेको छ । बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार आगामी १० वर्षमा नेपाललाई वेलनेस डेस्टिनेसनका रूपमा स्थापित गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि बढाउने योजना पनि छ ।

‘नेपाल आउने धेरै पर्यटक प्रकृतिको नजिक हुन, मानसिक शान्ति प्राप्त गर्न र फरक जीवन अनुभव लिन आउँछन् । ट्रेकिङ, होमस्टे, ध्यान, योग र अध्यात्मलाई एउटै प्याकेजमा जोड्न सकियो भने नेपाल विश्वकै प्रमुख वेलनेस गन्तव्य बन्न सक्छ,’ उनले भने । सोही अनुसार बोर्डले गन्तब्य पहिचानको प्रक्रिया सुरु भएको छ ।

लुम्बिनी : शान्ति र ध्यानको उद्गम स्थलका रुपमा मानिने लुम्बिनी आरोग्य पर्यटनको प्रमुख गन्तब्य बन्नसक्छ । भगवान बुद्धको जन्मस्थल भएकाले लुम्बिनी विश्वकै महत्वपूर्ण आध्यात्मिक केन्द्र पनि हो । विभिन्न देशले निर्माण गरेका बौद्ध विहार, ध्यान केन्द्र र मेडिटेसन क्याम्पहरूले हजारौं विदेशी साधकलाई आकर्षित गरिरहेकाले लुम्बिनी आरोग्य गन्तब्य बन्नसक्छ ।

पोखरा : प्राकृतिक सौन्दर्यता र सुविधाका हिसाबले पोखरा अधिकांश पर्यटकको रोजाइमा छ । पोखरा अहिले नेपालकै प्रमुख आरोग्य गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । फेवातालको किनार, हिमालको दृश्य र शान्त वातावरणले यहाँ योग र ध्यान अभ्यासलाई विशेष बनाउने गरेको छ । लेकसाइड क्षेत्रमा योग रिट्रिटहरू, आयुर्वेद मसाज र साउन्ड हेलिङ सेन्टरहरूले पर्यटकलाई भुल्याइरहेको छ ।

खप्तड : प्राकृतिक ध्यान केन्द्रका रुपमा मानिएको खप्तड राष्ट्रिय निकुञ्ज सुदूरपश्चिमको अनुपम गन्तव्य हो । विशाल घाँसे मैदान, स्वच्छ वातावरण र आध्यात्मिक महत्तवका कारण खप्तडलाई प्राकृतिक ध्यान केन्द्रका रूपमा विकास गर्दै आरोग्य गन्तब्यका रुपमा विकास हुने संभावना छ । कर्णाली र सुदुरपश्चिमका हरियाली फाँट र मनोरम स्थलहरु आरोग्यका गन्तब्य बन्नसक्छन् ।

इलाम : चिया बगान र हरियाली प्रकृतिले भरिभराउ इलाम आरोग्य पर्यटनको संभावित गन्तब्यका रुपमा लिइएको छ । भौगोलिक बनोट र उत्पादित चिया, अलंैची लगायतका कारण सुधारिएको जीवनशैलीसँग आरोग्य पर्यटनलाई जोड्न सकिने इलामका होटल व्यवसायी विजय राईको भनाइ छ ।

‘जैविक विविधता, जातीय संस्कृति, प्राकृतिक सुन्दरता साथै सन्दकपुर, माईपोखरी, सिद्धिथुम्का, अन्तुडाँडा, छिन्तापु, इलाम पाथीभरा, टोड्के झरना, कन्याम, फिक्कल, माङमालुङ, माबुथाम, गजुरमुखी आदी आरोग्य पर्यटकका लागि उपयुक्त छन्,’ उहाँले भन्नुभयो ।

काठमाडौं र आसपासका स्थानः काठमाडौं र नजिकका स्थानहरु आरोग्य गन्तब्यका लागि उपयुक्त मानिन्छ । उपत्यकाको दक्षिणी क्षेत्रमा रहेको फर्पिङ, त्यस आसपासका गुम्बा, ध्यान केन्द्र र गुरु पद्मसम्भवसँग सम्बन्धित धार्मिक स्थलहरू विदेशी साधकहरूको आकर्षणको केन्द्र बन्ने गरेका छन् ।

त्यस्तै नमोबुद्ध, स्वयम्भू, सेतो गुम्बा, बौद्ध जस्ता स्थानहरु शान्ति र करुणाको प्रतीकका रुपमा लिइएकाले ति स्थानहरु आरोग्य गन्तब्यका रुपमा विकास गर्न सकिने संभावनाहहरु छन् । ति स्थानको हरियाली वातावरण, पहाडी दृश्य र आध्यात्मिक वातावरणले पर्यटकलाई भुल्याउन सहयोग पुग्नेछ ।

आध्यात्मिक खोजीका लागि विश्वप्रसिद्ध मानिएको ओशो तपोवन, विपश्यना ध्यान केन्द्र ध्यान शिविरका रुपमा चर्चित छन् । काठमाडौंबाट नजिकै रहेका पहाडी स्टेसनहरू, इको–रिसोर्टहरू र सांस्कृतिक सम्पदाहरु आरोग्यका विन्दु बन्नसक्छन् । त्यसबाहेक हिमाली पदमार्गहरुले प्रकृतिसँग नजिक हुने, शरीरलाई सक्रिय बनाउने र मानसिक शान्ति प्राप्त अवसर हुने भएकाले आरोग्य गन्तब्य हुन् ।

त्यतिमात्र होइन नेपालमा एक सयभन्दा बढी आयुर्वेदिक केन्द्र, पञ्चकर्म, शिरोधारा, साउण्ड थेरापी, योगथेरापी र हर्बल मालिसजस्ता सेवा दिइरहेका केन्द्रहरु आरोग्य पर्यटकका जक्सन बन्नसक्छन् । त्यस्तै ठूला तारे होटेलहरूमा विश्वस्तरीय लक्जरी स्पा सेवाहरू पर्यटकको रोजाइमा पर्नसक्छन् ।

छिमेकी देश भारतले योगलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाइसकेको र चीनले थर्मल स्पा र प्राकृतिक उपचारलाई प्राथमिकता दिएकाले आरोग्य गन्तब्यका रुपमा विकास गर्दै गइरहेका बेला नेपालले आफ्नो मौलिक पहिचान, प्राकृतिक जडीबुटी, जैविक जीवनशैली र आध्यात्मिक संस्कृतिलाई आरोग्य पर्यटनका रुपमा विकास गर्ने संभावना छ ।