नयाँ उद्यम गर्न चाहने स्टार्टअपमा सरकारले पछिल्लो तीन वर्षमा दुई अर्ब रुपियाँभन्दा बढी लगानी गरेको छ । आर्थिक वर्ष २०८०र८१ देखि २०८२र८३ सम्म सरकारले एक हजार ६८७ उद्यमीलाई दुई अर्ब १४ करोड रुपियाँ कर्जा लगानी गरेको हो ।
सातै प्रदेशका विभिन्न क्षेत्रका उद्यमीको उद्यमशीलता विकास गरी रोजगारी सिर्जना गर्न सो कर्जा वितरण गरिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ ।
नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका उद्यमीलाई नयाँ व्यवसाय वा नवप्रवर्तनमा संलग्न हुन उत्प्रेरित गर्नु तथा सहुलियतपूर्ण ढङ्गले वित्तीय सहयोग उपलब्ध गराउने उद्देश्यसहित तीन वर्षअघि देखि स्टार्टअप उद्यम कर्जा वितरण सुरु गरिएको थियो ।
प्रतिष्ठानका अनुसार आव २०८२-८३ मा ९२२ उद्यमीलाई एक अर्ब पाँच करोड ७९ लाख रुपियाँ वितरण गरिएको छ ।
यस्तै आव २०८१र८२ मा छ सय उद्यमीलाई ८८ करोड ६६ लाख रुपियाँ कर्जा वितरण गरिएको थियो । आव २०८०र८१ मा १६५ उद्यमीलाई २१ करोड रुपियाँ कर्जा प्रवाह गरिएको प्रतिष्ठानले जनाएको छ ।
तीन वर्षमा कर्जाको ब्याजसाँवा गरी २० करोड रुपियाँ उद्यमीबाट फिर्ता आइसकेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानकी सूचना अधिकारी प्रियङ्का केसरीले स्टार्टअप उद्यम परियोजनामा छनोट भएका उद्यमीलाई राष्ट्रिय वाणिज्य बैङ्कमार्फत कर्जा वितरण गरिएको जानकारी दिनुभयो ।
उद्यमीलाई तीन प्रतिशत ब्याजमा पाँच लाख रुपियाँदेखि २० लाख रुपियाँसम्म कर्जा प्रदान गरिएको उहाँले बताउनुभयो । प्रतिष्ठानले उद्यमीलाई तीन किस्तामा कर्जा वितरण गरिरहेको छ । बढीमा पाँच वर्षसम्म त्यस्तो कर्जा उपयोग गर्न पाउने व्यवस्था गरिएको छ ।
कपनमा रहेको फूलप्रसाद प्राइभेट लिमिटेडकी सञ्चालक सुषमा शर्माले दुई वर्षअघि २५ लाख रुपियाँ कर्जा लिएर मन्दिरमा चढाइएका खेर जाने पूजाका फूललाई पुनः प्रयोग गरी वातावरणमैत्री धूप तथा अन्य सुगन्धित उत्पादन बनाउने काम गर्दै आएको बताउनुभयो ।
सीमान्तकृत समुदायका महिलालाई तालिम र रोजगारी दिएर आत्मनिर्भर बनाउन कर्जाले ठुलो भूमिका खेलेको शर्माको भनाइ छ । मन्दिरमा चढाइएका फूलबाट वातावरणमैत्री धूप बनाएर निर्यात गर्ने काम गरिरहेको उहाँको भनाइ छ ।
बाटेको धूप, सिन्के धूप र कोन धूप र माटोका धूप बाल्ने भाँडा तथा नेपाली लोक्ता कागजमा प्याक गरिएका उपहार बक्स बनाएर वितरण गर्ने काम गरिरहेको कम्पनीले जनाएको छ ।
यस्तै कुपण्डोलमा रहेको ग्रोर्थ हयाकर प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शीतल ओझाले दुई वर्षअघि २० लाख रुपियाँ कर्जा लगेर सफ्टवेयर विकास, डिजिटल मार्केटिङ, अनलाइन कक्षा सञ्चालन गर्ने काम गरिरहेको जानकारी दिनुभयो ।
कर्जाले डिजिटल व्यवसायलाई विस्तार गर्नुका साथै प्रत्यक्ष रूपमा ६० जनालाई रोजगारी दिन सफल भएको उहाँको भनाइ छ ।
प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक उमेश गुप्ताले स्टार्टअप कर्जा वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो । यसलाई परिष्कृत गरी इनोभेसन र प्रविधि प्रयोग गर्ने उद्यमलाई केन्द्रित गरेर वितरण गर्नुपर्ने उहाँको भनाइ छ ।
प्रतिष्ठानले कृषि तथा पशुपन्छी, वनपैदावार, पर्यटन प्रवर्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्यसेवा, शिक्षा तथा शिक्षण सिकाइलगायत क्षेत्रमा तोकिएको मापदण्ड पूरा गरेकालाई यस किसिमको कर्जा उपलब्ध गराउँदै आएको छ ।
गोरखापत्रबाट साभार