वर्षाले श्रीलंकासँगको खेल रद्द नेपाली क्रिकेट टोली क्वार्टरफाइनलबाटै बाहिर

  • Clock icon
    २०८३ आश्विन १३, मंगलवार

वर्षाको कारण श्रीलंकासँगको खेल रद्द हुदा नेपाली क्रिकेट टोली जापानमा जारी २० औँ एसियाली खेलकुदको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

जापानको करोगी एथलेटिक पार्कमा हुने भनिएको खेल भारी वर्षाले प्रभावित हुँदा नेपाल नखेलिकन नै अन्तिम आठबाट बाहिरिएको हो।

वर्षाका कारण खेलमा टस समेत हुन सकेन। खेल रद्द भएपछि नेपाली क्रिकेट टोली एसियाडबाट बाहिरिएको छ। नेपाल एसियाडबाट बाहिरिदा वरियताको आधारमा श्रीलंका भने सेमिफाइनलमा पुगेको छ।

श्रीलंकाले अब सेमिफाइनलमा साविक विजेता भारतको सामना गर्नेछ।

यसअघि सन् २०२४ को टी२० विश्वकपमा पनि नेपाल र श्रीलंका एकै समूहमा रहे पछि वर्षाको कारण खेल रद्द भएको थियो।

जापानमा पछिल्लो समय भारी वर्षा भइरहेको छ। वर्षाका कारण नै यसअघि पनि २ क्वार्टरफाइनल खेल रद्द भएका थिए।
आईसीसी वरीयतामा श्रीलंका नवौँ र नेपाल १४औँ स्थानमा छ।

वर्षाकै कारण सोमबार हुने भनिएको पाकिस्तान र हङकङ तथा भारत र अफगानिस्तान बीचको क्वार्टरफाइनल खेल पनि रद्द भएको छ।

पहिलो र दोस्रो क्वार्टरफाइनल खेल रद्द भएपछि आईसीसी वरीयताको आधारमा पाकिस्तान र भारतले सेमिफाइनलमा स्थान बनाएका छन्।
टी–२० वरियतामा पाकिस्तान छैटौँ र भारत शीर्ष स्थानमा छन्।

वरीयतामा हङकङ २४ र अफगानिस्तान दशौँ स्थानमा छन्। एसियाडमा क्वार्टरफाइनल, सेमिफाइन र फाइनल खेलका लागि रिजर्भ डे छुट्याइएको छैन।

यस्तै खेल रद्द भएको अवस्थामा आईसीसी वरीयताको शीर्ष स्थानमा रहने टोली अघिल्लो चरणमा पुग्ने आधार बनाइएको छ।

सोही कारण पाकिस्तान र भारत अन्तिम चारमा पुगिसकेका छन्। नेपाल समूह विजेताको रुपमा अन्तिम आठमा पुगेको हो। समुह चरणमा वर्षाकै कारण नेपाल र जापानबीचको खेल रद्द हुँदा नेपाल समूह विजेताको रुपमा क्वार्टरफाइनलमा पुगेको थियो।

एसियाडबाट नेपाल बाहिरिएसँगै क्रिकेटमा पदकको सम्भावना पनि सकिएको छ।

नेपाली टोलीले अब आइसीसी विश्वकप लिग २ अन्तर्गत क्रिकोणात्मक सिरिजका लागि ओमान पुग्नेछ। लिग २ को शीर्ष चारमा नरहे नेपालले प्लेअफ हुँदै विश्वकपको छनोट चरण खेल्नुपर्नेछ।