अपाङ्गता भएका व्यक्तिका लागि इसेवाको ‘स्वावलम्बन कर्जा’

  • Clock icon
    २०८३ आश्विन १३, मंगलवार

काठमाडौं । इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गर्दै डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त कर्जा सुविधा सार्वजनिक गरिएको हो । इसेवाका अनुसार नयाँ सुविधाले कर्जा लिन आवश्यक लामो प्रक्रिया, कागजी झन्झट तथा भौतिक उपस्थितिलाई कम गर्दै अपाङ्गता भएका व्यक्तिको कर्जामा पहुँचलाई सहज बनाउने उद्देश्य राखेको छ ।

कार्यक्रममा इसेवा, सिटिजन्स बैंक इन्टरनेसनल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, विकास साझेदार संस्था, अपाङ्गता भएका व्यक्ति तथा सञ्चारमाध्यमका प्रतिनिधिको सहभागिता रहेको थियो ।

‘स्वावलम्बन कर्जा’अन्तर्गत योग्य अपाङ्गता भएका व्यक्तिले इसेवा एपबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन् । यस सुविधामार्फत न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम २ लाख रुपैयाँसम्म कर्जा लिन सकिनेछ । कर्जाको वार्षिक ब्याजदर ९ दशमलव ९९ प्रतिशत र प्रशोधन शुल्क शून्य दशमलव ७५ प्रतिशत तोकिएको छ ।

योग्य प्रयोगकर्ताले इसेवा एपको गृहपृष्ठमा रहेको ‘स्वावलम्बन कर्जा’ ब्यानरमा क्लिक गरी आवेदन प्रक्रिया पूरा गर्न सक्नेछन् ।

कर्जा प्राप्त गर्न इसेवा खाता केवाईसी प्रमाणित भएको हुनुपर्नेछ । साथै, आवेदकसँग नेपाल सरकारबाट जारी भएको अपाङ्गता परिचयपत्र हुनुपर्ने, कम्तीमा ६ महिनादेखि इसेवा प्रयोग गर्दै आएको हुनुपर्ने तथा तलब वा व्यवसायबाट नियमित आम्दानी हुने हुनुपर्नेछ ।

कर्जा स्वीकृतिसम्बन्धी मूल्यांकन तथा अन्य प्रक्रिया भने बैंकको प्रचलित मापदण्डअनुसार हुने बताइएको छ ।

कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले डिजिटल प्रविधिको प्रयोगमार्फत अपाङ्गता भएका व्यक्तिका लागि कर्जामा पहुँचलाई सरल र सहज बनाउन खोजिएको बताए ।

उनले ‘स्वावलम्बन कर्जा’लाई एउटा कर्जा उत्पादन मात्र नभई वित्तीय पहुँच विस्तार गर्ने अवधारणाको सुरुवातका रूपमा व्याख्या गरे । व्यक्तिको शारीरिक अवस्थाका कारण वित्तीय पहुँच सीमित हुन नहुने उल्लेख गर्दै उनले नयाँ सुविधाले अपाङ्गता भएका व्यक्तिलाई वित्तीय सेवामा थप सहज रूपमा सहभागी हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत रोशन मानन्धरले अपाङ्गता भएका व्यक्तिको औपचारिक कर्जामा पहुँच विस्तार गर्न इसेवासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

उनका अनुसार ‘स्वावलम्बन कर्जा’मार्फत अपाङ्गता भएका व्यक्तिका व्यक्तिगत तथा आर्थिक आवश्यकतालाई सम्बोधन गर्ने वित्तीय समाधान उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा संस्थाका नेतृत्वको मन्तव्यसँगै ‘स्वावलम्बन कर्जा’ सुविधाबारे जानकारी, प्रत्यक्ष कर्जा वितरण, एक सेवाग्राहीको अनुभव तथा यस पहलसम्बन्धी वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो ।

  • Clock icon
    २०८३ आश्विन १३, मंगलवार