गायिका एलिना चौहानले मिडियाकर्मीहरूलाई आफ्नो पुरानो घाउ नकोट्याउन र आफूलाई वर्तमानमा बाँच्न दिन आग्रह गरेकी छन्।
शुक्रबार राति सामाजिक सञ्जालमार्फत सञ्चारकर्मी तथा मिडियाकर्मीहरूलाई सम्बोधन गर्दै उनले स्टाटस लेखेकी हुन्।
‘सम्पूर्ण सञ्चारकर्मी तथा मिडियाकर्मीहरूलाई मेरो एउटा आग्रह छ,मलाई बाँच्न दिनुस्, मलाई मेरो वर्तमानमा बाँच्न दिनुस्। कहिलेकाहीँ त मैले कल्पनासम्म पनि नगरेका कुराहरू समाचारमा देख्छु। म मेरो विगत बिर्सेर धेरै अगाडि बढिसकेकी छु। मैले मेरा पुराना घाउहरूलाई नराम्रो सपना सम्झेर छोडिसकेकी छु’, उनले लेखेकी छन्, ‘तर हरेक कुरामा त्यही विगत निकालेर, पुराना फोटो टाँसेर समाचार बनाउँदा फेरि त्यही घाउ कोट्याइन्छ। मलाई मुक्ति दिनुस्। मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्। विगत मेरो जीवनको एउटा अध्याय हो, मेरो सम्पूर्ण जीवन होइन। कृपया त्यो अध्याय बन्द गरिदिनुस्।’
साथै उनले आफ्ना विषयमा भ्रामक कुरा लेख्ने सञ्चारमाध्यम तथा सञ्चारकर्मीविरुद्ध कानुनी उपचारमा जाने चेतावनीसमेत दिएकी छन्।
उनले लेखेकी छन्, ‘भ्रामक तथा मेरो आत्मसम्मानमा आँच पुर्याउने समाचारहरू फैलाइरहने मिडिया तथा सम्बन्धित व्यक्तिहरूविरुद्ध अब प्रचलित कानुनबमोजिम कानुनी उपचारमा जानेछु।’
उनको पूरा स्टाटस-
सम्पूर्ण सञ्चारकर्मी तथा मिडियाकर्मीहरूलाई मेरो एउटा आग्रह छ( मलाई बाँच्न दिनुस्, मलाई मेरो वर्तमानमा बाँच्न दिनुस्। कहिलेकाहीँ त मैले कल्पनासम्म पनि नगरेका कुराहरू समाचारमा देख्छु। म मेरो विगत बिर्सेर धेरै अगाडि बढिसकेकी छु। मैले मेरा पुराना घाउहरूलाई नराम्रो सपना सम्झेर छोडिसकेकी छु उनले लेखेकी छन्, तर हरेक कुरामा त्यही विगत निकालेर, पुराना फोटो टाँसेर समाचार बनाउँदा फेरि त्यही घाउ कोट्याइन्छ। मलाई मुक्ति दिनुस्। मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्। विगत मेरो जीवनको एउटा अध्याय हो, मेरो सम्पूर्ण जीवन होइन। कृपया त्यो अध्याय बन्द गरिदिनुस्।
अनि अर्को कुरा, यो कुरा म कुनै घमण्डले होइन, आत्मविश्वासका साथ भन्छु( मलाई आफ्नो पहिचान बनाउन कसैको नामको सहारा चाहिँदैन। त्यसैले मेरो विगतसँग जोडिएका कुनै नाम वा सम्बन्धलाई बारम्बार निकालेर मेरो आजको परिचय बनाइदिन आवश्यक छैन।
नोट: यस्ता भ्रामक तथा मेरो आत्मसम्मानमा आँच पुर्याउने समाचारहरू फैलाइरहने मिडिया तथा सम्बन्धित व्यक्तिहरूविरुद्ध अब प्रचलित कानुनबमोजिम कानुनी उपचारमा जानेछु।

