कुमारी बैंकका १ लाख संस्थापक सेयर सर्वसाधारणका लागि खुला

काठमाडौं । कुमारी बैंक लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि बिक्रीमा ल्याएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले संस्थापक सेयरधनीलाई प्राथमिकताका आधारमा सेयर खरिदका लागि प्रस्ताव गरेको थियो। तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेपछि बैंकले उक्त सेयर सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि बिक्रीमा ल्याएको हो।

बैंकका अनुसार बिक्रीमा राखिएको कुल १ लाख कित्ता संस्थापक सेयर प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियामार्फत बिक्री गरिनेछ। सेयरको प्रतिकित्ता मूल्य प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ।

३५ दिनभित्र आवेदन दिनुपर्ने

इच्छुक लगानीकर्ताले आधिकारिक सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थापक सेयर खरिदका लागि आवेदन पेस गर्नुपर्नेछ।

आवेदन फाराम बैंकको सेयर निष्कासन तथा बिक्री व्यवस्थापक कुमारी क्यापिटल लिमिटेडको कार्यालय, नक्साल–नागपोखरी, काठमाडौंमा प्रत्यक्ष उपस्थित भएर बुझाउन सकिनेछ।

त्यसैगरी, कुमारी क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, टंगाल, काठमाडौंमा समेत आवेदन फाराम बुझाउन सकिने व्यवस्था गरिएको छ।

बैंकले यसअघि नियामकीय व्यवस्थाअनुसार विद्यमान संस्थापक सेयरधनीलाई उक्त सेयर खरिदको अवसर दिएको थियो। तर, तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि बाँकी सेयर सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि बिक्रीमा ल्याइएको हो।