साताको तेस्रो कारोबार दिन आज बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार बढेको बजारमा बुधबार भने बिक्री चाप देखिँदा नेप्से ओरालो लागेको हो।
बुधबार नेप्से परिसूचक ६.३८ अंकले घटेर २ हजार ५७२.३४ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.६३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंकले घटेका छन्।
सूचकमा गिरावट आए पनि बुधबार कारोबार रकम भने बढेको छ। मंगलबार ३ अर्ब १३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा बुधबार ३५९ स्टकको ३९ हजार ४६६ पटकको कारोबारबाट ३ अर्ब ७४ करोड ८० लाख ८० हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। यस दिन कुल १ करोड ३ लाख कित्ता शेयर कारोबार भएको छ।
बुधबार घलेम्दी हाइड्रोको सेयरमूल्य सर्वाधिक ६.२५ प्रतिशतले बढेको छ। एआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य पनि करिब ६ प्रतिशतले उकालो लागेको छ। त्यस्तै, इंगवा हाइड्रोपावरको सेयरमूल्य करिब ५ प्रतिशतले बढेको छ।
यस दिन कारोबारमा आएको ग्लोबल आइएमई समुन्नत योजना-२ को इकाईमूल्य भने सर्वाधिक ५.२६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३२ करोड २१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने पिपुल्स हाइड्रोपावरको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।
बुधबार १३ उपसमूहमध्ये बैंकिङ उपसमूह मात्रै उकालो लागेको छ। बाँकी १२ उपसमूहका परिसूचक घटेका छन्। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १।३८ प्रतिशतले घटेको छ। अन्य उपसमूहमा पनि सामान्यदेखि मध्यम गिरावट देखिएको छ।
