सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी शंकरलाल अग्रवाललाई रिहा गर्न सर्वोच्च अदालतले पनि अस्वीकार गरेको छ।
आज बुधबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा दर्ता गर्नै अस्वीकार गरेको हो।
सर्वोच्च प्रशासनले बन्दीप्रत्यक्षीकरणको रिट दरपिठ गरेपछि अग्रवालको तर्फबाट इजलासमा निवेदन दिइएको थियो। इजलासले पनि रिट दर्ता नगर्ने प्रशासनको आदेशलाई सदर गरेको हो।
यसअघि विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले अग्रवाललाई थुनामा पठाउने आदेश दिएको थियो।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले थुनामा पठाएको थियो। तर उनलाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
त्यसपछि सम्पत्ति शुद्धीकरणको मुद्दामा थुनछेकका लागि विशेष अदालतमा उपस्थित भएका अग्रवाललाई थुनामा पठाउने आदेश दिएको थियो। विशेष अदालतले थुनामा पठाउने आदेश दिएपछि अग्रवालले बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका थिए।
व्यवसायी दीपक भट्टसँग जोडिएका बैंकिङ कसुर, धितोपत्रसम्बन्धी कसुर, बिमासम्बन्धी कसुर र सम्पत्ति शुद्धीकरणको कसुरमा उनीमाथि मुद्दा विचाराधीन छन्। उनका छोरा सुलभ अग्रवाल पनि सम्पत्ति शुद्धीकरणको कसुरमा कारागारमै छन्।
