कांग्रेस केन्द्रीय सदस्य बन्न खोज्दा विनिता पक्राउ

नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी बिनिता खड्का पक्राउ परेकी छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई हिजो शुक्रबार साँझ साढे ७ बजे काठमाडौंको राष्ट्रिय सभागृह नजिकैबाट पक्रेको हो ।

रामेछापको सुनापती गाउँपालिका–५, खनियापानी निवासी खड्का इजरायलमा केयर गिभरको रोजगारीमा पठाइदिने प्रलोभन देखाउँदै रकम ठगीको प्रकरणमा परेकी हुन् । सिआइबीका अनुसार वैदेशिक रोजगारीका नाममा भएको ठगी प्रकरणमा खड्काको समेत संलग्नता खुलेपछि नियन्त्रणमा लिइएको हो ।

सोही प्रकरणमा प्रहरीले यसअघि नेपाली कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि भरत चौलागाईं,पत्रकार बालिका सिवाकोटी,ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरिसकेको छ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरुपयोग गरेर रकम असुलिएको आरोपसमेत अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ ।

उनीहरूको समूहले साढे २ करोड रुपैयाँ ठगी गरेको अनुमान छ । सुनापती गाउँपालिका(५,खनियापानीकी बिनिता नेपाली काँग्रेसको विशेष अधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित र हाल रामेछापबाट महाधिवेशन प्रतिनिधिमा छानिएकी हुन् ।