दशैंको मुखमा त्रिशूली नदीको कटानले पृथ्वी राजमार्गको गलौंदी क्षेत्रमा सडक भासिएपछि आज शुक्रबार यातायात ठप्प भएको छ भने काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रु बाटोमै अलपत्र परेका छन्।
भोटेकोसी नदीमा गत भदौ १० गते बाढी आउँदा रसुवादेखि चितवनसम्म नै क्षति पुगेको थियो। भोटेकोसी बाढी त्रिशूली नदीमा मिसिँदा नुवाकोटदेखि धादिङसम्मको सडक र पुलहरू बगेका थिए।
बाढीको कटानकै कारण संघीय राजधानी जोड्ने लाइफलाइन सडक पृथ्वी राजमार्गको ठाउँ ठाउँमा पहिरो खसेको थियो। पृथ्वी राजमार्गअन्तर्गत पर्ने कृष्णभीरको सडक गत भदौ १४ गते त्रिशूलीको कटानले बगेको थियो। नदी कटानले बगाएको सडकमाथिबाट डाइभर्सन बनाएपछि १८ दिनपछि सुचारु भएको थियो।
कृष्णभीरबाहेक सिमलताल, गल्छिलगायतका क्षेत्रमा पनि सडक भासिएर एकतर्फी सञ्चालन हुँदै आएको थियो। आज शुक्रबार धादिङको गजुरी गाउँपालिका-५ गलौदी क्षेत्रमा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ।
त्रिशूली नदीको कटानका कारण सडक भासिएर समस्या उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले आज साँझदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा सम्पूर्ण सवारीसाधनको आवागमन रोकेको छ।
