भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि निर्माण सुरु

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बजार विस्तारसँगै बिक्रीपछिको सेवा सञ्जाललाई बलियो बनाउने उद्देश्यले बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको डल्लुमा पनि अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्यास गरेको छ ।

बीवाईडीको बिक्रीपछिको सेवा, मर्मतसम्भार तथा ग्राहक सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित अघि बढाइएका यी परियोजनाले नेपालमा कम्पनीको सेवा पूर्वाधार विस्तार गर्ने रणनीतिलाई प्रतिबिम्बित गरेका छन् । विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा ग्राहकलाई सहज, भरपर्दो र व्यवस्थित सेवा उपलब्ध गराउने उद्देश्यले साइमेक्सले सर्भिस नेटवर्क विस्तारलाई प्राथमिकता दिएको हो ।

भक्तपुरमा सञ्चालनमा आएको नयाँ सर्भिस सेन्टर २५ हजार ७२.६० वर्गफिट क्षेत्रफलमा फैलिएको छ । यसलाई सवारीसाधन बिक्री, सर्भिसिङ तथा स्पेयर पार्ट्सको सुविधा एउटै स्थानमा उपलब्ध गराउने ‘थ्रीएस’ सेन्टरका रूपमा विकास गरिएको कम्पनीले जनाएको छ । सेन्टरमा आठवटा सर्भिस बे रहेका छन्, जसमध्ये पाँचवटा सञ्चालनमा आइसकेका छन् । बाँकी तीनवटा बे सवारीसाधनको सर्भिससम्बन्धी आवश्यकता बढ्दै जाँदा सञ्चालनमा ल्याइनेछन् । उक्त परिसरमा सवारीसाधन बिक्रीका लागि शोरुमसमेत चाँडै सञ्चालनमा ल्याउने तयारी छ ।

भक्तपुरको सांस्कृतिक तथा वास्तुकलागत पहिचानलाई ध्यानमा राखेर निर्माण गरिएको यो सेन्टरलाई ‘बीवाईडी हेरिटेज शोरुम एन्ड सर्भिस सेन्टर’ अवधारणामा विकास गरिएको हो । अन्तर्राष्ट्रिय ब्रान्डको मापदण्डलाई स्थानीय कला तथा सम्पदासँग जोड्ने उद्देश्यले तयार गरिएको डिजाइनले परम्परागत सर्भिस सेन्टरभन्दा फरक पहिचान स्थापित गर्ने कम्पनीको लक्ष्य छ ।

नयाँ सर्भिस सेन्टरको उद्घाटन बीवाईडीको एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका डेपुटी जनरल म्यानेजर झाङ जी र असिस्टेन्ट जनरल म्यानेजर तथा हेड अफ आफ्टर सेल्स फेङ एरदोङले गरेका हुन् । उद्घाटन कार्यक्रममा बीवाईडी एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका दक्षिण एसिया क्षेत्रका हेड अफ आफ्टर सेल्स लिउ सियाओफेङ तथा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठलगायत सहभागी थिए ।

भक्तपुरमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएकै दिन काठमाडौंको डल्लुमा अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्यास गरिएको छ । डल्लुमा निर्माण हुने नयाँ पूर्वाधारले काठमाडौं उपत्यकामा बीवाईडीका ग्राहकलाई मर्मतसम्भार तथा बिक्रीपछिको सेवा उपलब्ध गराउन थप सहज हुने कम्पनीको अपेक्षा छ ।

विद्युतीय सवारीसाधनको बजारमा बिक्रीपछिको सेवा महत्वपूर्ण पक्षका रूपमा रहने भएकाले दक्ष प्राविधिक जनशक्ति, सक्कली स्पेयर पार्ट्स र व्यवस्थित मर्मतसम्भार सुविधाको विस्तार आवश्यक मानिन्छ । यही आवश्यकतालाई ध्यानमा राख्दै साइमेक्सले सेवा केन्द्रहरूको क्षमता विस्तार तथा ग्राहकको पहुँच सहज बनाउने योजनालाई अघि बढाएको हो ।

कम्पनीका अनुसार भक्तपुर र डल्लुका परियोजनाले बीवाईडीको सेवा सञ्जाललाई थप व्यवस्थित बनाउनुका साथै सवारीसाधन खरिददेखि नियमित मर्मतसम्भारसम्म ग्राहकलाई एकीकृत सेवा उपलब्ध गराउने आधार तयार गर्नेछन् । कम्पनीले ‘सुपेरियर एन्ड सिन्सियर सर्भिस’ अर्थात् उत्कृष्ट र इमानदार सेवाको अवधारणाअनुसार ग्राहकलाई सेवा दिने प्रतिबद्धता जनाएको छ ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार भइरहेका बेला बिक्रीपछिको सेवा पूर्वाधारमा निजी क्षेत्रबाट भइरहेको लगानीले ईभी बजारको दीर्घकालीन विकासमा समेत भूमिका खेल्ने अपेक्षा गरिएको छ । साइमेक्सले अन्तर्राष्ट्रिय सेवा मापदण्ड, स्थानीय पूर्वाधार विकास र ग्राहककेन्द्रित सेवामार्फत नेपालमा बीवाईडीको उपस्थिति थप सुदृढ बनाउने रणनीति अघि बढाएको छ ।