काठमाडौँ आवतजावत गर्ने पृथ्वी राजमार्ग आज राति ६ घण्टा बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार सूचना जारी गर्दै पृथ्वी राजमार्गमा पर्ने गजुरी गाउँपालिका(५ गलौदी क्षेत्रमा सडक मर्मत संभारका लागि आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म राजमार्ग बन्द रहने जानकारी दिएको हो।
त्रिशूली नदीले सडक कटान गर्दा गलौँदीमा सडक भासिएपछि गत शुक्रबार साँझदेखि हिजो आइतबार दिउँसोसम्म पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो।
भासिएको ठाउँमा डाइभर्सन बनाएपछि आइतबार अपराह्नदेखि भने पृथ्वी राजमार्गमा दुईतर्फी नै गाडी चल्न थालेका छन्।
भासिएको ठाउँमा माथि कटान गरेर सडक सञ्चालनमा ल्याइएको हो। जहाँ थप मर्मत गर्न राजमार्ग बन्द गर्न लागिएको हो।
गत शुक्रबार साँझ सडकको करिब सय मिटर भाग चर्किनुका साथै २० मिटर खण्ड भासिएपछि दुई दिनसम्म पृथ्वी राजमार्गमा गाडी चलेका थिएनन्।
