आज साँझ बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार

बलिउड अभिनेता टाइगर श्रफ सवार गाडीमा गोली प्रहार भएको छ।

आज आइतबार साँझ भारतको मुम्बईस्थित जुहु क्षेत्रमा उनी चढेको बिएमडब्लू गाडीमा आक्रमण भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दि इकोनोमिक टाइम्सका अनुसार टाइगर श्रफ सकुशल छन्। तर उनका गाडी चालक घाइते भएका छन्। उनलाई उपचारका लागि नानावती अस्पताल लगिएको छ।

टाइगर आइतबार फुटबल खेलेर घर फर्किँदै थिए। सोही क्रममा पुष्पा पार्कनजिकै उनको गाडीमा अज्ञात व्यक्तिहरूले गोली चलाएका थिए।

घटनास्थलमा गोलीका खोका फेला परेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मोटरसाइकलमा आएका आक्रमणकारीले तीन राउन्ड गोली चलाएका थिए।

इकोनोमिक टाइम्सका अनुसार घटनामा अर्का एक व्यक्ति पनि घाइते छन्। उनी अटोरिक्सा चालक भएको बताइएको छ।

घटनापछि मुम्बई प्रहरीले अनुसन्धानका लागि १२ वटा टोली परिचालन गरेको छ।

प्रहरीले घटनास्थलको फरेन्सिक जाँच गर्नुका साथै सिसिटिभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा आक्रमणकारीको खोजी गरिरहेको छ।

यसैबीच, घटनामा लरेन्स विश्नोई समूहको संलग्नता रहेको दाबी सामाजिक सञ्जालमा गरिएको छ। तर प्रहरीले उक्त दाबीको आधिकारिक पुष्टि गरिसकेको छैन।

घटनापछि भारतीय कांग्रेसका नेताहरूले भने महाराष्ट्रको कानुन व्यवस्थामाथि प्रश्न उठाएका छन्।