रेड बुल एभरेस्ट महिला भलिबल लिगको मुख्य प्रायोजक

रेड बुल एभरेस्ट वुमन्स भलिबल लिग (इडब्लुभी) को आगामी ३ वर्षको लागि मुख्य प्रायोजक बनेको छ।

आयोजक इन्फिनिटी ड्रिम्स प्राइभेट लिमिटेडले रेड बुलसँग तीन संस्करणका लागि सम्झौता भएको आज आइतबार घोषणा गरेको छ।

यो सहकार्यबाट महिला भलिबलको प्रवर्द्धनसँगै लिगलाई थप व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउने आयोजकको लक्ष्य छ।

सरस बेभरेजेज (रेड बुल नेपाल) का प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले नेपाली भलिबलसँग जोडिन पाउनु गौरवको विषय भएको बताए।

उनले महिला खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर र पहिचान दिलाउने लिगसँगको सहकार्यले नेपाली खेलकुदप्रतिको प्रतिबद्धता थप बलियो बनाउने उल्लेख गरे।

‘यो केवल एउटा सिजनको साझेदारी होइन, आगामी तीन संस्करणसम्मको दीर्घकालीन सहकार्य हो। यसले नेपाली खेलकुद र यहाँका प्रतिभाप्रतिको हाम्रो विश्वासलाई दर्शाउँछ,’ सिलवालले भने।

लिगकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईंले रेड बुलसँगको सहकार्यले प्रतियोगिताको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

रेड बुलको अन्तर्राष्ट्रिय पहिचान र खेलकुद क्षेत्रको अनुभवबाट खेलाडीका लागि थप अवसर सिर्जना गर्न तथा देशभरका किशोरीलाई खेलकुदमा आकर्षित गर्न सहयोग पुग्ने उनको भनाइ छ।

साझेदारीसँगै खेलाडीलाई उपलब्ध गराइने सहयोग विस्तार गर्ने, खेल अनुभव सुधार गर्ने र दर्शक तथा सञ्चारमाध्यमसँगको सम्बन्ध सुदृढ बनाउने योजना आयोजकले अघि सारेको छ।

यो सहकार्यले नेपाली महिला भलिबलको लोकप्रियता बढाउनुका साथै खेलाडीको प्रतिभा पहिचान र महिला खेलकुदको व्यावसायिक विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

एभरेस्ट महिला भलिबल लिगको पहिलो दुई संस्करणको उपाधि कर्णाली यशविजले जितेको थियो। प्राविधिक कारणका कनरण स्थगित गरिएको महिला लिगको तेस्रो संस्करणको मिति तय हुन बाँकी छ ।