नेपाली सेनाको रथीमा बढुवा भएका अनुपजंग थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
आज मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबिच प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
२०८३ मंसिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रथीमा थापालाई बढुवा गर्ने निर्णय गरेको थियो। थापा यससँगै प्रधानसेनापतिको रोलक्रममा समेत बसेका छन्। उनी हालका प्रधानसेनापति सिग्देलको अवकासपछि आगामी भदौ २४ गतेदेखि प्रधानसेनापति बन्ने सम्भावना बलियो छ।
सेनामा अर्को रथी पनि केही दिनमै बढुवा गरिँदैछ। त्यसका लागि उपरथी मधुकर कार्की सिफारिस भइसकेका छन्। कार्की मंसिर १५ गतेदेखि लागू हुने गरी रथीमा बढुवा हुनेछन्। यसअघि नै उनलाई बढुवा गर्न सिफारिस गरिएको छ।
उपरथीमा बढुवा भएका मनोज थापा र सहायक रथीमा बढुवा भएका प्राविधिक महासेनानी जगत शाह, पंकज रावल र शितल बानियाँलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
महासेनानीमा बढुवा भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
