काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन र हिंसा गर्नेहरू डराउने समाज निर्माण गर्न सबैमा आह्वान गरेकी छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा सन्देश जारी गर्दै मन्त्री बादीले हिंसा, विभेद र अपमान कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने बताए । महिलाको सम्मान, सुरक्षा र समान सहभागिता सुनिश्चित नभएसम्म लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा हुन नसक्ने उनको भनाइ छ ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा सञ्चालन हुने यस अभियानलाई हिंसामुक्त, विभेदरहित, न्यायपूर्ण तथा समतामूलक समाज निर्माणको साझा प्रतिबद्धताका रूपमा लिनुपर्ने उनले उल्लेख गरे । नेपालको संविधानले समानता, सम्मानपूर्वक बाँच्न पाउने अधिकार र महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उनले प्रचलित कानुनको प्रभावकारी कार्यान्वयनमार्फत हिंसाका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन् ।
मन्त्री बादीले डिजिटल तथा साइबर हिंसा, बालबालिकामाथिको हिंसा र सीमान्तकृत समुदायमाथि हुने हिंसालगायत सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध राज्यका निकाय, कानुन कार्यान्वयन गर्ने पदाधिकारी तथा आम नागरिकलाई एकजुट भएर आवाज उठाउन आह्वान गरिन् । कुनै पनि पहुँच, शक्ति, प्रतिष्ठा वा पदका आधारमा पीडकले कानुनी उन्मुक्ति पाउन नहुने उल्लेख गर्दै उनले दोषीलाई कानुनी कारबाही र पीडितलाई न्याय, संरक्षण तथा सम्मान सुनिश्चित गर्नुपर्ने बताइन् ।
‘महिलाको सुरक्षा महिलाको मात्र नभई सम्पूर्ण समाज र राज्यको जिम्मेवारी हो,’ मन्त्री बादीले भनिन्,’ पीडित न्यायको खोजीमा राज्यका निकायमा पुग्दा उनीहरूप्रति संवेदनशीलता, जिम्मेवारी र तदारुकताका साथ व्यवहार गर्नुपर्छ ।’ उनले पीडितको पीडालाई आफ्नै परिवारको सदस्यले भोग्नुपरेको अवस्थासरह संवेदनशील भएर सहयोग, उद्धार र न्यायका लागि काम गर्न सबैलाई आग्रह गरिन् ।
मन्त्री बादीले सरकारी तथा निजी क्षेत्रका कर्मचारी, आमाबुवा, शिक्षक, विद्यार्थी, नागरिक समाज, राजनीतिक दल, विभिन्न संघसंस्था तथा सम्पूर्ण नागरिकलाई लैङ्गिक हिंसाविरुद्ध आआफ्नो ठाउँबाट आवाज उठाउन र खुलेर बोल्नसमेत आग्रह गरिन् ।
हिंसा गर्ने सोच र प्रवृत्तिलाई निरुत्साहित गर्दै पीडितले न्याय पाउने व्यवस्था सुनिश्चित गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिँदै उनले हिंसामुक्त नेपालको निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गर्न आह्वान गरिन् ।
