भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँट स्वदेश फर्किएका छन् ।
उनी सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । रवीन्द्रको स्वागतमा दर्जनौं समर्थक विमानस्थल पुगेका थिए ।
स्वदेश फर्किएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले खेल्नको लागि मैदानमा छिरेपछि डर भन्ने कुरा आफैं हटेर गएको बताए । उनले देशवासीहरुको लागि अझै यो भन्दा धेरै राम्रो खेल्नुपर्ने बताए ।
उनले भने, ‘खेल्नको लागि मैदानमा छिरेपछि डर भन्ने कुरा हुँदैन रहेछ । भित्र छिरेपछि जुध्ने हो, लड्ने हो जसरी नि ढाल्ने हो भन्ने सोचले गएको थिए । सरकारलाई केही भन्दिन । यत्रो माया गर्ने दर्शक हुनुहुन्छ । दर्शकहरु र फ्यानहरुको लागि अझै धेरै राम्रो गर्न मन छ । देशवासीहरुको लागि मैंले अझै यो भन्दा धेरै राम्रो गर्न आवश्यक छ ।’
ढाट आइतबार राति भएको खेलमा भारतका चोंगरेंग कोरेनलाई हराउँदै बान्टमवेट च्याम्पियन बन्ने पहिलो नेपाली बनेका थिए । आफ्नो व्यावसायिक रेकर्ड ८–१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच लडाइँको जितको श्रृंखलालाई भंग गरिदिएका थिए ।