कृष्णा फाउन्डेसनले मधेश प्रदेश क्रिकेट संघको क्रिकेट टोलीलाई जर्सी प्रायोजन गरेको छ।
नयाँ बानेश्वरस्थित कृष्णा फाउन्डेसनको कार्यालयमा फाउन्डेसनका उपाध्यक्ष सुजित कुमार कर्ण र मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल कुमार महासेठले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता रकम खुलाइएको छैन।
कृष्णा फाउन्डेसनले मधेश जर्सी उपलब्ध गराउने छ भने मधेश टोलीले जर्सीमा फाउन्डेसन राख्नेछ। फाउन्डेसनले भविष्यमा पनि यो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
भारतमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै शिक्षा परामर्शदाता कृष्णा फाउन्डेसनको स्थापना गरिएको थियो। फाउन्डेसनले खेलकुदको माध्यमबाट शिक्षा र विद्यार्थीबीचको सम्बन्धलाई थप मजबुत बनाउन चाहेको बताएको छ ।
फाउन्डेसनका उपाध्यक्ष कर्णले भने, ‘एजुकेसन कन्सल्टेन्सी मधेश प्रदेश संघसँग जोडिँदा हामीलाई खुसी लागेको छ। हामी भारतमा काम गर्ने सबैभन्दा ठूलो र उत्कृष्ट युनिभर्सिटीहरूमा विद्यार्थीहरूलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएका छौँ। अब खेलकुदको माध्यमबाट अझ धेरै विद्यार्थीमा पहुँच पुर्याउने हाम्रो चाहना छ।’
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले फाउन्डेसनले मधेश प्रदेशलाई फाउन्डेसनले दिएको साथको प्रशंसा गर्दै यो कदम तारिफयोग्य भएको बताए ।
मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल कुमार महासेठले प्रायोजन सम्झौताबाट आफू निकै खुसी भएको व्यक्त गर्दै यसबाट प्राप्त हुने रकमलाई ग्रासरुट क्रिकेटको विकासमा खर्च गर्ने बताए ।
उनले हाल संघले १० जना क्रिकेटरलाई मासिक तलब दिँदै आएकोमा अब थप २ जनालाई पनि यसमा समेट्न सहज हुने जानकारी दिए ।
कार्यक्रममा क्यानका केन्द्रीय सदस्य धिरेन्द्र साउद, प्रदेशका सचिव आयुष श्रेष्ठ, कोषाध्यक्ष सुबाश जैसवाल तथा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहको उपस्थिति थियो ।
यसैगरी, कार्यक्रममा उपस्थित मधेश प्रदेशबाट राष्ट्रिय टिममा रहेका क्रिकेटरहरू पवन सर्राफ, रुपेश सिंह र आदिल आलमले पनि सम्झौताप्रति खुसी व्यक्त गरे ।